११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै : एमाले सरकार ढल्ने पक्का


विराटनगर। प्रदेश नम्बर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आइतबार विश्वासको मत लिँदै छन्। प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार (आज) मतदान हुने लागेको हो। आचार्यले आइतबार दिउँसो १२ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु हुने छ।

शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने यसअघि नै दलहरुबीच सहमति भएको थियो।

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका थिए। आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा भने २५ असोजमै दर्ता भएको थियो।

गत भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि राईकै प्रस्तावमा एमालेको एकल बहुमत भएको दाबीसहित आचार्य मुख्यमन्त्री बनेका थिए। तर‚ एमालेका १० जना सांसद नेकपा एकीकृत समाजवादीमा गएपछि उनी स्पष्ट अल्पमतमा छन्।

९३ जना सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। एमालेसँग ४१ जना सांसद मात्रै छन्। नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १० र जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक जना सांसद छन्।

Nabintech