११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
आजै लुम्बिनी प्रदेशमा  माओवादी केन्द्रका नेता केसी मुख्यमन्त्रीमा नियुक्त हुदै


लुम्बिनी प्रदेशमा माओवादी केन्द्र सहितको ४ दलिय गठबन्धनले आज प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमक शेरचन समक्ष दाबी पेश गर्दैछन् । गठबन्धनको पूर्व निर्णय अनुसार माओवादी संसदीयदलका नेता कुलप्रसाद केसी सोनामको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने गरि दाबी पेश गर्नेछन् । प्रदेश प्रमुख शेरचनले आज ३ बजे सम्ममा सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेपनि १० बजे लगत्तै गठबन्धनका नेताहरु दाबी पत्र लिएर प्रदेश प्रमुखको कार्यालय पुग्ने तयारी भएको गठबन्धनका एक नेताले बताए ।

लुम्बिनी प्रदेश सरकारका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनको नयाँ सरकारका लागि दाबी पेश गर्न जाने तयारी भएको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए।

प्रमुख सचेतक खानका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार ४ दलको सिफारिसमा माओवादी केन्द्रका नेता केसीलाई मुख्यमन्त्रीमा समर्थनसहित सरकार गठनका लागि दाबी पेश गरिने छ । अघिल्लो पटक राजीनामा दिए लगत्तै आफैले मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेको एमाले संसदीयदलका नेता शंकर पोखरेलले भने यसपटक दाबी प्रस्तुत नगर्ने भएका छन् । बुधबार नै पत्रकारहरुसँग कुरा गर्दै एमाले सांसद तथा एमाले नेतृत्वको सरकारका प्रवक्ता बैजनाथ चौधरीले आफुहरु प्रतिपक्षमा रहने बताएका थिए ।

प्रदेश प्रमुखले आजै मुख्यमन्त्री नियुक्त गर्ने र आजै सपथ समेत गराउने तयारी छ। गठबन्धनले आजै माओवादी, काँग्रेस र जसपाका एक एक जना सदस्य रहनेगरि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने बताईएको छ । राष्ट्रिय जनमोर्चाको सरकारमा सहभागीताबारे आधिकारीक धारणा सार्वजनिक भएको छैन ।

लुम्बिनी प्रदेशसभाका हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक पर्दछ । ४ दलीय गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन्।

४ दलीय गठबन्धनले नयाँ सरकार गठनसँगै नयाँ नीति, नयाँ कार्यक्रम र नयाँ योजना लिएर अघि बढ्ने माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले बताएका छन् ।

प्रदेश प्रमुखले आह्वान गरे अनुसार प्रदेशसभाको विशेष अधिवेशन शुरु भएको १५ मनिेट पछि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए । उनको राजीनामा नआएको अवस्थामा प्रदेशसभाबाट मतदान गरेर मुख्यमन्त्रीबाट पोखरेललाई हटाउने तयारी गठबन्धनको रहेको थियो । तर अधिवेशन शुरु भएपछि पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखको पत्र सुनाउँदै सभामुख पुर्ण घर्तीले विशेष अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए ।

यसअघि लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग गर्दै संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। सो प्रस्तावमा छलफल गर्नका लागि प्रदेश प्रमुख शेरचनले साउन २७ गते दिनको १ बजेका लागि विशेष अधिवेशनको आह्वान गरेका थिए।

Nabintech