२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राज्यमन्त्री शर्माद्धारा मन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेश सरकार अल्पमतमा


लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । शुक्रबार जसपा (महन्त ठाकुर) पक्षमा लागेर मन्त्री भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार अल्पमतमा परेको हो । राजीनामा दिएकी मन्त्री रायमाझी जसपा (उपेन्द्र यादव) पक्षमा लागेको जनाइएको छ । उनीसँग मोबाइल सम्पर्क भने हुन सकेन । उनको राजीनामासँगै लुम्बिनी प्रदेश सरकारमा फेरि नयाँ हलचल सुरु भएको छ ।

रायमाझी आफ्नै पार्टीका तीनजना सांसदलाई साथ छाडेर जनता समाजवादी पार्टीको महन्त ठाकुर पक्षका सांसदसँग सरकारमा सहभागी भएकी थिइन् । सरकारमा सहभागी भएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन् । जसपा ९यादव पक्ष० का संसदीय दलका नेता सहस्रराम यादवले रायमाझी पुरानै ठाउँमा फर्किएको बताए ।

६ जना सांसद रहेको जसपाका महत्व ठाकुर पक्षका चारजना सरकारमा सहभागी थिए । जसपाका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेय, उद्योग, पर्यटन तथा वनमन्त्री कल्पना पाण्डे र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव सरकारमा छन् ।

८३ सदस्य प्रदेश सभामा एमालेका ३८ र जसपाका ठाकुर पक्षमा तीनजना गरी अब ४१ जना सांसद छन् । प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक छ । लुम्बिनी प्रदेशमा एमाले माधव नेपाल पक्षमा दुईजना सांसद छन् । जसपाका चारजना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर, राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद छ । सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका तीन र राष्ट्रिय जनमोर्चाका एकजना गरी ४२ जना सांसद अहिले सरकारको विपक्षमा छन् ।

वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । त्यतिवेलै विपक्षीको विरोधबीच प्रदेशप्रमुखलाई आफ्नै कार्यकक्षमा बोलाएर शपथग्रहण गरेका थिए । माओवादीले सरकार छाडेसँगै कपिलवस्तुका सांसद दृघनारायण पाण्डे, दाङका अमरबहादुर डाँगी र दाङकै नेकपाबाट निर्वाचित सांसद विमला वलीले सरकारको साथ छाडेका थिए । पाण्डे अहिले कांग्रेसबाट राष्ट्रिय सभा सदस्य भइसकेका छन् । डाँगीले राजीनामा दिएका छन् भने वली माओवादी केन्द्रमा छिन् ।

कांग्रेस प्रमुख सचेतक फकरुद्दिन खानले अल्पमतमा भएको सरकारका मुख्यमन्त्री पोखरेलले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

Nabintech