११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लोप हुँदै असारे गीत, सरकारलाई वास्तै छैन


काठमाडौं/ वार्षिक पाँच करोड रुपैयाँभन्दा धेरैका तिज गीत रेकर्ड हुँदा असारे गीत कति रेकर्ड हुन्छन् रु यकिन तथ्यांक त कसैसँग छैन । तर, असारे गीत नगन्य मात्रामा रेकर्ड हुने गरेका छन् ।

असारे गीत वर्षमा एक दर्जन पनि रेकर्ड नहुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले जनाएको छ । लगानीमा हुने जोखिमका कारण असारे गीत खोजी गर्न तथा गाउन सर्जकहरु तयार नहुने राष्ट्रिय लोक तथा गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी बताउँछन् । निकै थोरै कलाकारले मात्रै असारे गीत गाउने गरेको उनको भनाइ छ । नारायण रायमाझी, दुर्गा रायमाझीलगायत केहीले असारे गीत गाउँदै आए पनि अधिकांशले नगाउने गरेको उनी बताउँछन् ।

कलाकारहरु व्यावसायिक हुँदै गएका कारण लगानी उठ्ने सम्भावना न्यून भएकाले यसमा अधिकांशको चासो नरहने रमेश जिकिर गर्छन् । “असारे गीत वर्षमा एक महिना मात्रै गाउने तथा सुन्ने गरिएकाले कलाकारहरु व्यावसायिक हुँदै जाँदा यसतर्फ ध्यान जान छोडेको हो,” रमेश भन्छन्, “एउटा गीत तयार गर्न कम्तीमा तीनरचार लाख रुपैयाँ लाग्छ । तर, त्यो लगानी नउठ्ने हुँदा असारे गीतमा लगानी गर्न कलाकारले आँट गरिरहेका छैनन् ।”

यद्यपि, नैतिकताका आधारमा कलाकारले पनि यस्ता गीत गाउनुपर्नेमा उनको जोड छ । व्यक्तिगत स्वतन्त्रताको कुरा भएकाले कसैले कसैलाई जोड–जबर्जस्ती गर्न नहुने र नसक्ने तर १०र१२ वटा अरु गीत गाउँदा नैतिकताका आधारमा देशका कला, संस्कृति र साहित्यसँग जोडिएका गीत–संगीतको संरक्षण, सम्वर्द्धन गर्नुपर्ने उनको धारणा छ ।

“काँठ, पोखरा र पश्चिमतिर गरेर वर्ष आधा दर्जनदेखि मुस्किलले ८र९ वटा गीत रेकर्ड हुन्छन्,” उनी भन्छन्, “बरु असारे गीत बज्नुअगाडि नै तिजका गीत बज्छन् । अहिले स्टुडियोमा हेर्न जानुस् तिजका गीत गाउनको भिड देख्नुहुन्छ ।”

आम्दानीको स्रोत नभएकाले लोक तथा दोहोरी गीत प्रतिष्ठानले चाहेर पनि कुनै पनि प्रकारका गीत–संगीतमा लगानी गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

पर्व तथा ऋतु विशेष गीतलाई बचाउनुपर्ने अवस्था आएको रमेश बताउँछन् । असारे गीत खोज्न, अध्ययन गर्न तथा संरक्षण गर्न सरकारले कलाकारहरुलाई सहयोग गर्नुपर्छ,” उनी भन्छन्, “राज्यको कला, संस्कृति र साहित्यसँग जोडिएको विषयलाई सरकारले आफ्नो स्रोत–साधन प्रयोग गरेर जगेर्ना गर्नुपर्छ । यो सरकारको दायित्त्व पनि हो ।”

जुन निकायमा बजेट छ, उसले संरक्षणमा चासो नदेखाएको उनको आरोप छ । करोडौँ बजेट लिएर बसेका सरकारी निकायले पर्व तथा ऋतु विशेष गीतको अनुसन्धान तथा संरक्षणमा बेवास्ता गरिरहेको रमेशको टिप्पणी छ ।

संगीतकार हरि लम्साल पनि असारे गीत संरक्षणमा कलाकार वा व्यक्ति विशेषभन्दा पनि राज्यको ध्यान खिचिनुपर्नेमा जोड दिन्छन् । अन्य गीतको तुलनामा असारे गीत पछि परेको भन्दै उनी कृषि क्रान्ति गर्ने भन्ने सरकारले यसको संरक्षणमा ध्यान दिन सक्नुपर्ने बताउँछन् ।

“दसैँ, तिहार, तिजजस्तै उत्सवको रुपमा असारे गीतका विभिन्न पाटाहरु गीतमा आइदिएको खण्डमा कृषकलाई उत्साह र हौसला मिल्थ्यो होला,” उनी भन्छन्, “सिजनल गीत भएकाले असार १५ का दिन एक दिन मात्रै मिडियाले स्थान दिने भएकाले असारे गीत कम बनिरहेको छ ।”

विश्वलाई बचाउने अन्न उत्पादन गर्ने सुरुआतको दिन भएकाले यसलाई महोत्सवकै रुपमा मनाइनुपर्ने तर त्यस्तो नभइरहेको उनी बताउँछन् ।

असारे गीत लोपोन्मुख अवस्थामा पुगेको लोकगायिका हरिदेवी कोइराला बताउँछिन् । अहिलेको नयाँ पुस्तालाई असारे गीतको भाका कस्तो हुन्छ भन्ने समेत थाहा नहुने उनी बताउँछिन् । कृषि कर्ममा आश्रितहरुको संख्या घट्दै जाँदा यसैसँग जोडिएको असारे भाका पनि लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

“पहिला–पहिला खेतीपाती हुँदा कर्म गर्दा गाउने भनेर धान रोप्दा, कोदो रोप्दा र भदौरे गीत, दाईं हाल्दा गीत गाउने चलन थियो । जेठमा, असारमा, साउनमा गीत गाउने चलन थियो । यी गीतका आफ्ना विशेषता र परम्परा छ,” उनी भन्छिन्, “यस्ता गीत अहिलेको पुस्ताले सुन्दै नसुनेका कारण पनि गाउन छोडेको छ । सिजनल भएकाले छोटो समय मात्रै गाउने र सुनिने भएकाले पनि कम रेकर्ड हुन थाल्यो ।”

पर्व र समय विशेष गीतको मर्म र महिमा बुझाउँदै सम्बन्धित निकायको यसमा ध्यान खिचिनुपर्ने उनी बताउँछिन् । संरक्षण र सम्वर्द्धन हुनुपर्छ भन्ने कुरामा सरकारी तवरबाट व्यवस्था हुनुपर्नेमा उनको जोड छ ।

“जुन कुरा हाम्रो सम्पत्ति हो, यसमा सरकारले विशेष व्यवस्था गर्नुपर्छ । देशको कला, संस्कृति र पहिचानसँग जोडिएको कुरा व्यक्तिले मात्रै जोगाउँछु भन्नु र सरकारले ध्यानु दिनु फरक कुरा हो,” नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्यसमेत रहेकी हरिदेवी भन्छिन्, “सरकारले यसलाई विशेष योजनामा पारेर संरक्षण र सम्वर्द्धन गर्नुपर्छ । सरोकारवाला निकायलाई जति बजेट र व्यवस्था गरिएको छ, त्यतिले मात्रै पुग्दैन । सरकारले यसलाई प्राथमिकीकरण गरेर संरक्षण गर्नुपर्छ ।”

सरकारी सीमितता रहेको भन्दै उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको ध्यान खिचिनुपर्नेमा जोड दिन्छिन् । यसका लागि पहल भने भइरहेको उनको भनाइ छ । जबसम्म व्यक्ति र राज्यमा यसको आवश्यकता र महत्त्व बोध हुँदैन, तबसम्म यसको संरक्षण नहुने हरिदेवी बताउँछिन् ।बाह्रखरीबाट

Nabintech