११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
धारा ७६ (५) सांसदहरूको ब्रह्मास्त्र हो, दलीय ह्वीप लाग्दैन : अधिवक्ता श्रेष्ठ


काठमाडौं/दोस्रोपटक भएको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि दोस्रो दिनको बहस सुरु भएको छ। बिहीबार दोस्रो दिनको बहस सुरु भएसँगै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका हुन्।

अधिवक्ता श्रेष्ठले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सांसदहरूले विशेष अधिकार प्रयोग गरेर सरकार गठन गर्नसक्ने बताए। उनले संविधानले सांसदहरूलाई विशेष अधिकार दिएको बताए। श्रेष्ठले यसमा सांसदहरूलाई दलीय ह्वीप नलाग्ने तर्क गरे। उनले भने, ‘संविधानको धारा ७६को उपधारा ५ प्रतिनिधिसभाका सदस्यहरूका लागि ब्रह्मास्त्र हो। त्यो अधिकार विशेष रूपमा प्रतिनिधिसभाका सदस्यहरूलाई दिइएको हो।’

प्रतिनिधिसभाले सरकार गठन गर्ने अन्तिम समयसम्म प्रयास गरोस् र सरकार गठन हुने अवस्थासम्म संसदले काम गरोस् भन्नका लागि सांसदहरूलाई विशेष अधिकार दिइएको श्रेष्ठको तर्क थियो। उनले अघिल्लो पटक र यस पटक राष्ट्रपति कार्यालयले पठाएको लिखित जवाफ फरक फरक आएको उल्लेख गरे। ‘दोस्रो पटक अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउनु भन्ने निवेदन आउँदैमा स्वीकार हुन सक्दैन, प्रश्न उठाउन पाइँदैन भनियो’, श्रेष्ठले भने, ‘तर, अघिल्लो पटक प्रधानमन्त्रीलाई संविधानमा नभएको सबै अधिकार हुने दाबी गरिएको थियो। त्यही आधारमा यहाँ बहस समेत भएको थियो।’

अघिल्लो फैसला अनुसार विघटन गरेको राष्ट्रपतिले लिखित जवाफमा जिकिर गरेको उनले बताए। ‘प्रधानमन्त्रीले पनि यही जवाफ दिनु भएको छ। ७५ ९५० भनेको प्रतिनिधि सभाका सांसदलाई दिएको ब्रह्मास्त्र हो। यसले अन्तिम रूपमा प्रयोग गरेर प्रतिनिधि सभा बचाउने र प्रधानमन्त्री बचाउन प्रयोग गर्न पाउँछन्।’

Nabintech