११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दाङको पातुखोलामा मानव अतिक्रमण, कुलोजस्तो बन्यो खोला


दाङ/तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ५ र ९ का बासिन्दा पातुखोलाका कारण उच्च जोखिममा रहेका छन्। लामो समयदेखि खोला बगर रहेको त्यस क्षेत्रमा तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको समयदेखि बसोबास हुन थालेको हो। त्यस यता करिब २० वर्षमा बगर बस्तीमा परिणत भएपछि खोला भने कुलोमा परिणत भएको जानकारहरु बताउँछन्।

पातुखोलाको पाँच किलोमिटर क्षेत्रमा बस्ती बसेको छ। बगरमा बस्ती बसेपछि बाढीको उच्च जोखिम भएको तुलसीपुर–५ का पदम केसी बताउँछन्। मानवीय लापरवाहीका कारण यस्तो अवस्था आएको उनको बुझाइ ५।

केसीका अनुसार सशस्त्र द्वन्द्वका बेला गाउँका मानिसहरू बजार आउन थाले। त्यसपछि नै बगरमा बस्ती भएको हो। ‘पहिला खोलाको क्षेत्र धेरै खुला थियो। अहिले त कुलो जत्रो भएको छ,’ उनले भने, ‘यस्तो हो भने २०७१ सालमा आएको बाढीले भएको क्षतिभन्दा बढी क्षति हुन सक्छ।’

पातुखोलामा विभिन्न समयमा आएको बाढीले पु¥याएको क्षतिको अध्ययन गर्दा भविष्यमा पनि त्यस्तै क्षति हुने स्थानीय नारायण भण्डारीले बताउँछन्। प्रकृतिलाई मानिसहरूले चुनौती दिइरहेकाले कालान्तरमा खोलाले आफ्नो लय समात्ने सक्ने भन्दै त्यो बेला ठूलो धनजनको क्षति हुन सक्ने उनको ठम्याइ छ।

‘हिजो पातुखोला थियो। आज त्यो खोला छैन। कुलो बनाइएको छ। जहाँ घना बस्ती बसेको छ,’ ’ उनले भने, ‘जसले गर्दा उक्त ठाउँ उच्च जोखिम रहेको छ। अब त्यहाँको बस्तीलाई नै सुरक्षित स्थानमा सारेपछि मात्र नोक्सानी कम होला।’

उनले सिन्धुपाल्चोकको मेलम्चीमा भएको घटना पातुखोलामा हुन सक्ने भन्दै राज्यले ध्यान दिनुपर्ने बताए। यस्तो तुलसीपुरको मात्र समस्या नभई देशभर खोलाहरू अतिक्रमण गरेर बसेको बस्तीहरूमा भएको उनको भनाइ छ।

यता तुलसीपुर उपमहानगरपालिका–९ का वडाध्यक्ष घनश्याम ढकालले भने पातुखोलामा रहेका बस्तीहरूलाई संरक्षण गर्न राज्यले काम गर्दै आइरहेको बताउँछन्। जनप्रतिनिधिविहीन भएको समयमा भूमाफियाका कारण खोलाको बगर बस्तीमा रूपान्तरण भएको र खोला कुलोमा परिणत भएको उनको भनाइ छ।

उनले भने, ‘जनप्रतिनिधि नभएको समयमा भू–माफियाहरूले जग्गा किनबेच गरी बस्ती बसालेका कारण अहिले यस्तो भएको हो।’

उनले स्थानीय सरकारले मात्र नभई प्रदेश र संघीयले पनि बस्ती संरक्षणका लागि काम गर्दै आइरहेको बताए। वडा नम्बर ९ र ५ मा पर्ने पातुखोलाको दुवैतर्फ आरसिसी वाला लगाएर तटबन्ध गरिएको समेत उनले बताए। वडाध्यक्ष ढकालले त्यहाँको बस्ती संरक्षणका लागि उपमहानगरले दीर्घकालीन सुरक्षा रणनिति बनाउन अत्यन्त आवश्यक रहेको बताए।

पातुखोलाको सिरान सल्यानको कपुरकोट क्षेत्र हो। त्यो क्षेत्र केही वर्षदेखि दलदल क्षेत्र बनेकाले पहिरोको समेत उच्च जोखिम रहेको र पहिरो खस्न बित्तिकै त्यसको असर तुलसीपुर क्षेत्रमा पर्ने र पातुखोला क्षेत्र पूर्णरुपमा प्रभावित रहने अवस्था छ। पातुखोला क्षेत्रमा मात्रै हजारौं घरहरू निर्माण गरिएका छन्। दशौं हजार मानिस बसोबास गर्दै आएका छन्।

तुलसीपुर–१ राम्रीको फेदीबाट तुलसीपुर–११ उरहरी हुँदै सुकौरा बबई नदीसम्म पर्ने पातुखोलाको रेड क्षेत्र पहिचान र खोजी गर्न यसअघि नै लागिएको थियो। यसका साथै भविष्यमा गर्ने क्षतिको विषयमा अध्ययन अनुसन्धान समेत गरिराखिएको छ।

Nabintech