२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कार्यकर्ता भेला नरोकिने, प्रमुख अतिथि बनेर आउन ओलीलाई निम्तो


काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई शक्तिको भाषा नबोल्न आग्रह गरेको छ।

यो समूहले आयोजना गरेको राष्ट्रिय भेलाको बारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराइले भने, ‘यो बुद्धको देश हो, बुद्धको देशमा शान्तिको भाषा हुन्छ। तपाई पनि बुद्धको अनुयायी नै हुनुहुन्छ। त्यसैले तपाईको शक्तिको भाषा छ। त्यो बदल्नुहोस्।’

प्रधानमन्त्री ओलीले आफ्नो समूहको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय भेलामा जाने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका थिए।

‘उहाँले आफ्ना अनुयायीलाई राष्ट्रिय भेलालाई नियाल्न भन्नुभएको छ। तपाईले कसलाई पठाउने हो परिचयसहित पठाउनुहोस्’ नेता भट्टराईले भने।

उनले प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथि बनेर आउन समेत आग्रह गरेका छन्। ‘तपाई आफैं पार्टी अध्यक्ष हुनुहुन्छ। तपाई आफै आउनुहोस्। देशभरबाट आएका कार्यकर्तालाई के(के भन्नुछ, भन्नुहोस्’ उनले भने।

उनले कारबाहीको कुराले राजनीति अगाडि नबढ्ने समेत बताए।

‘तपाईको अहंकारपूर्ण अभिव्यक्ति हो, हामी कारवाही भोग्न तयार छौं। संविधान र जनमतको रक्षाको निम्ति लागेका छौँ। हामी लामबद्ध भएर तयार छौँ’ उनले भने, ‘तपाईं धम्कीको भाषा नबोल्नुहोस्, आफूलाई सुधार गर्नुहोस्।’

ओलीको कदम नै पार्टीको विधान विपरित भएकाले कारवाहीको योग्य अध्यक्ष स्वयम् भएको नेता सुरेन्द्र पाण्डे बताउँछन्। उनले धम्कीपूर्ण भाषाले कार्यकर्तालाई नतर्साउन आग्रह गरेका छन्।

पार्टी विभाजनको बाटो ओलीले नै सुरु गरेको उनले दाबी गरे।

‘हामीले हिजो भेटमा पनि अदालतको निर्णय जहाँबाट भएको छ। त्यहीँबाट सुरु गरौँ भनेका छौँ। तर, उहाँले पार्टी एकताको अभियानको प्राथमिकतालाई घटाउनतिर लाग्नुभएको छ’ उनले भने।

उनले भोलिबाट सुरु हुने कार्यकर्ता भेला पार्टीको वैधानिक भएको समेत दाबी गरे।

Nabintech