३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
‘ओलीइतरको सरकार बनाउन सोमबार सहमति हुनसक्छ’


काठमाडौं /नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपाल नयाँ सरकार गठनका लागि सहमतिनजिक पुगेको कांग्रेसका एक उच्च तहका नेताले बताएका छन्। तीन दलबीच नयाँ सरकार निर्माणका लागि सोमबार (भोलि) सहमति हुने सम्भावना रहेको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार बनाउन तीन दल सहमतिनजिक पुगेको उनको भनाइ छ। यसअघि माओवादी केन्द्र र जसपाबीच शनिबार यस विषयमा छलफल भएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा बारा पुगेकाले आइतबार त्रिपक्षीय वार्ता हुन नसकेको बताइएको छ।

देउवालाई प्रधानमन्त्री बनाउन माओवादी केन्द्र तयार देखिन्छ। तर जसपाका दुई समूहमा फरक/फरक विचार आएकाले तीन दलबीच सहमति जुट्न सकेको छैन।

जसपाका अध्यक्ष उपेन्द्र महतो र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई वर्तमान सरकार जसरी पनि हटाउनुपर्ने पक्षमा छन्। अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पक्षमा ढल्किएका छन्। जसपा एक ढिक्का हुन नसक्दा निर्णयमा ढिलाइ भएको कांग्रेस नेताको भनाइ छ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन कांग्रेसमा एकमत बनिसकेको उनको भनाइ छ। यसअघि सभापति देउवालाई प्रधानमन्त्री बनाउन अनिच्छुक देखिएका संस्थापनइतर समूह पनि अहिले देउवालाई सघाउन तयार भएको छ। गत शुक्रबार महामन्त्री डा। शशांक कोइराला निवास महाराजगन्जमा बसेको बैठकपछि संस्थापनइतरका नेताहरु देउवालाई प्रधानमन्त्री बनाउन सहमत बनेका थिए। रामचन्द्र पौडेल पक्षले बोलाएको उक्त बैठकमा नेता कृष्णप्रसाद सिटौला र गगन थापा पनि सहभागी भएका थिए। ओलीको प्रधानमन्त्रीमा निरन्तरता भए ‘मूलुकले थप क्षति बेहोर्ने’उक्त बैठकले निष्कर्ष निकालेको थियो। प्रधानमन्त्रीलाई हटाउन कांग्रेसकै अग्रसरता हुनुपर्ने नेताहरुको राय थियो।

Nabintech