१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कुसुण्डा भाषा सिक्ने कि : ‘सोजाक, निगी उही हाना’


देउखुरी । लोपोन्मुख कुसुण्डा भाषाको संरक्षण गर्न नयाँ पुस्ता अगाडि आएको छ । यस भाषालाई जीवन्त राख्न नयाँ पुस्ता बोलचाल र एकापसमा कुराकानी गर्दा कुसुण्डा भाषा प्रयोग गर्छन् । उनीहरु आफूले जानेका शब्द गीतका माध्यमबाट सुनाउने र त्यसलाई नेपालीमा उल्था गरेर भन्न सक्ने भएका छन् ।

भाषा आयोगले अहिले नेपालमा लोपोन्मुख भाषाको संरक्षण गर्ने र मातृभाषाको सम्मान गर्ने उद्देश्य राखी यस्तो अभियान सञ्चालन गरेको हो । आयोगका पहलमा दाङका दुई स्थानमा कुसुण्डा भाषा कक्षा सञ्चालन गरिएको छ ।

प्युठानको सरुमारानी गाउँपालिका–६ बूढीचौर घर भएकी हिमा कुसुण्डा घोराही उपमहानगरपालिका–५ धर्नास्थित महेन्द्र माविमा कक्षा १० मा अध्ययन गर्छिन् । उनी अहिले कुसुण्डा भाषामा गीत रचना गरेर सुनाउन सक्ने भएकी छन् । मातृभाषा भएर होला, उनी सिक्न र संरक्षणमा जुटेकी छन् । उनले यसअघि आफ्नो भाषाका केही कुरा हजुरबुबासँग सिकेकी थिइन्। उनी अझै धेरै सिक्न बाँकी भएकाले साथीसँग मिलेर यस वर्ष पनि थप कुरा सिक्दै साथीलाई सिकाउँदै छिन् ।

सोही विद्यालयमा कक्षा ८ का प्रेमी कुसुण्डा विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्छन्। उनी आफ्नो मातृभाषा कुसुण्डा भए पनि बोल्न आउँदैनथ्यो । आजभोलि विद्यालयमा बिहान कुसुण्डा भाषा सिक्न थालेदेखि उनले भेट्ने जति सबैलाई सोजाक ९नमस्कार० भन्न थालेका छन् । आफ्नो मातृभाषा सिकेमा लोप हुँदैन भन्ने लागेको उनले बताए । “सुरुसुरुमा त भाषा बुझिँदैनथ्यो, पढ्दै जाँदा सबै जान्ने भएका छौँ, यो भाषा पढ्ने साथीहरु एकापसमा कुरा गर्दा कुसुण्डा भाषामा कुरा गर्ने गरेका छौँ”, उनले भने, “पढ्दै जाँदा सजिलो भएको छ, ९तपाईँको घर कहाँ हो रु० भन्न परेमा ‘निगी उही हाना’ भनेर सोध्छौँ ।”

अनिल कुसुण्डा सोही विद्यालयमा कक्षा २ मा अध्ययनरत छन् । उनको मातृभाषा कुसुण्डा भए पनि बोल्न आउँदैनथ्यो । विद्यालयको पढाइका अतिरिक्त कुसुण्डा भाषा सिक्न थालेपछि भाषाको ज्ञान धेरै भएको छ अरु साथीहरुसँगै उहाँ पनि कुसुन्डा भाषा सिकेर कुराकानी गर्छन् । घरपरिवारमा सबैले नेपाली भाषा बोल्ने भएकाले नेपाली बाहेकको अरु भाषा आउँदैनथ्यो । उनले भने, “अहिले आफ्नो मातृभाषा सिक्दा धेरै खुशी भएको छु र बोल्न जान्ने पनि भएको छु ।”

घोराही–१८ सुपैलाटोल निवासी उर्मिला कुसुण्डा जोखिममा परेको आफ्नो भाषा बोल्न सिकेकी छन् । उनले अहिले आफ्नै टोलमा २० कुसुण्डालाई भाषा कक्षा चलाएर सिकाउन थालेका छन् । कमला खत्री सेन पनि सोही ठाउँमा बस्छिन् । उनका सहयोगमा आफूले सिकेको भाषा अहिले सबैलाई सिकाउन थालेको उर्मिलाले बताइन् । आफ्नो टोलमा कुसुण्डा बस्ने भए पनि भाषा उनलाई बोल्न आउँदैनथ्यो अहिले सबै जना कुसुण्डा भाषामा कुराकानी गर्न थालेकी छन् । उर्मिला १२ कक्षा उत्तीर्ण गर्ने कुसुण्डाका छोरीहरुमध्ये पहिलो हुन् ।

कुसुण्डा भाषा वा पाठ्यपुस्तक लेखक उदयराज आले दाङमा कुसुण्डा भाषा बोल्ने मानिस धेरै भएको बताउँछन् । आफ्नो मातृभाषा नेपाली भए पनि संरक्षणका लागि अनुसन्धान गरी पाठ्यपुस्तक तयार पारेर अर्को पुस्तालाई सजिलो गराइदिएको उनले बताए । “बिहानका समयमा आफैँ ती बालबालिकालाई भाषा सिकाउन २३ किलोमिटर टाढाबाट घोराही आउँछु, त्यहाँबाट छ किमीमा रहेको विद्यालयमा भाषा सिकाउन आउने गरेको छु”, उनले भने, “लेख्य भाषा भएन भने भाषा मर्छ, यसलाई जीवित राख्न लिपिबद्ध गर्नुपर्छ भन्ने लागेर पाठ्यपुस्तक तयार पारिएको हो । मातृभाषा कुसुण्डा भए पनि पढ्न आएका बालबालिकाले बोल्न र लेख्न जान्दैनथे । पाठ्यपुस्तक भएपछि उनीहरुलाई पढ्न सजिलो भएको छ ।” अब नयाँ पुस्ताले भाषा सिक्न थालेपछि संरक्षण हुने र लिपिबद्ध गरेर जीवित राख्न सक्ने आशा राखिएको उनले बताए ।

तीन वर्षअघिदेखि घोराही–५ स्थित महेन्द्र मावि, धर्नामा छात्रावासमा बसेर बालबालिकाले कुसुण्डा भाषा पढिरहेको सोही विद्यालयका प्रधानाध्यापक ऋषिराज अधिकारीले जानकारी दिए । सरकारले लोपोन्मुख तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई छात्रवासको व्यवस्था गरेपछि शिक्षाको पहुँचभन्दा टाढा रहेकाहरुको शिक्षामा पहुँच पुगेको हो ।

सो विद्यालयमा लोपोन्मुख कुसुण्डा, बादी र माझी समुदायका २० बालबालिका छात्रावासमा बस्छन् । कुसुण्डा जातिका छात्रछात्राले भाषा बचाउनका लागि पढ्दै गरेको प्रधानाध्यापक अधिकारी बताउँछन् ।

कुसुण्डा भाषाका वक्ता ज्ञानीमाया सेनको गत वर्ष ८५ वर्षका उमेरमा निधन भयो । दाङमा कुसुण्डा भाषाका दुई मात्र जीवित वक्ता कमला खत्री सेन र प्रेमबहादुर कुसुण्डा मात्र छन् । उनीहरुलाई भाषा बोल्न आउँछ तर लेख्न आउँदैन । “आफूसँगै भाषा पनि लोप हुन्छ कि भन्ने चिन्ता लागेको थियो, अहिले तल्लो पुस्ताले पनि भाषा सिकेको देख्दा खुशी छु । भाषा बचाउन तल्लो पुस्ता लागिपरेको छ । उनीहरुले लेखेर राख्दैछन्, अब हराउँदैन । भाषासँगै संस्कृति पनि हराउँछ, यसलाई जोगाएर राख्न आवश्यक छ भन्ने मलाई थाहा थिएन, म बोलेर सबै कुरा सिकाउँदै छु”, सेनले बताइन् ।

नेपालमा मात्र बोलिने १२३ भाषामध्ये २१ भाषा एक हजारभन्दा कम मानिसले बोल्छन् । विसं २०५८ को जनगणनानुसार नेपालमा कुसुण्डाको सङ्ख्या १ सय ६४ तथा वक्ताको सङ्ख्या ८७ उल्लेख गरिएको छ । विसं २०६८ को तथ्याङ्कानुसार नेपालमा कुसुण्डाको जनसङ्ख्या २१३ र वक्ताको सङ्ख्या २८ उल्लेख छ ।

कुसुण्डा विकास समिति, केन्द्रीय कार्यालय दाङले अध्ययन गरेर दाङ, सुर्खेत, अर्घाखाँची, कपिलवस्तु, गोरखा र तनहुँमा जम्मा कुसुण्डाको सङ्ख्या १ सय ५० उल्लेख गरेको छ । लोप हुन लागेको कुसुण्डा भाषा बचाउन आयोगले दाङमा दोस्रो चरणमा दुई स्थानमा कक्षा सञ्चालन गरेको आयोगका उपसचिव गेहनाथ गौतमले जानकारी दिए । भाषा शिक्षकले प्रत्येक सहभागीबाट कुसुण्डा भाषामा सङ्कलन तथा तयार गरिएको लोक पाठ्यसामग्री आयोगलाई उपलब्ध गराउने जनाइएको छ । रासस

Nabintech