१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रचण्ड-माधव अलग भएर जाने


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अन्ततः छुट्टिएका छन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मान्यता दिन अस्वीकार गरेपछि छलफलका लागि पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बस्यो । तर, उक्त बैठकमा अधिकांशले पार्टी एकता गरेर जानुपर्ने छलफल गरे पनि अन्ततः बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ ।

उक्त निर्णयपछि प्रचण्ड र माधव नेपाल छुट्टिने भएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । तर औपचारिक निर्णय आउन भने बाँकी नै छ । बैठकको बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताएका छन् । उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग समेत गरिने बताए ।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्यूँताइदिएपछि प्रचण्ड–नेपाल समूहले यस्तो निर्णय गरेको हो । अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिता ऋषिराम कट्टेललाई दिएको थियो । अदालतले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज गरेको थियो ।

प्रचण्ड—माधव समूहका स्थायी कमिटी बैठक जारी रहेकै बेला पूर्व एमालेका तीन सदस्य बैठकबाट बाहिरिएका थिए । बैठकबाट जारी रहदा घनश्याम भुषाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त बाहिरिए । नेता रघुजी पन्तले बैठकबाट बाहिरिँदै पत्रकारहरुसँग पार्टी एकता जोगाएर जानुपर्ने बताए । बैठकमा सहभागी भएर बाहिरिएका नेता पन्तले पत्रकारहरुसँग कुरा गर्दै पार्टी जोगाउने सम्भवना अझै खोज्नुपर्ने बताएका हुन् ।

उनले पूर्व पार्टीमा नै जाने कि नजाने भन्ने विषयमा छलफल जारी नै रहेको बताउँदै भने, ‘त्यो विषयमा त छलफल जारी नै छ । तर पार्टी एकता जोगाउन सकिन्छ भने जोगाउने सम्भावनाहरु खोज्नुपर्छ’ ।

त्यस्तै, नेता सुरेन्द्र पाण्डेले बैठबाट बाहिरिँदै पत्रकारहरुसँग बैठक जारी रहेको जानकारी दिए । बैठकका बीचैमा बाहिरिँदै गर्दा घनस्याम भुसालले भने पत्रकारहरुसँग प्रतिक्रिया दिन इन्कार गरे ।

बैठकमा माधवकुमार नेपाल पक्ष नेकपा एमालेको केन्द्रीय कार्यसमितिको नामावली सहित पेरिसडाँडा पुगेका थिए । नेपाल पक्षले प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठकअघि नयाँ बानेश्वरस्थित अर्याल होटलमा आन्तरिक छलफल गरेका थिए ।

Nabintech