१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
विप्लवले नै पुष्ठि गरे वार्ता टोली गठनको जानकारी


काठमाडौँ– सरकारले वार्ता टोली गठन गरेलगत्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि वार्ता टोली गठन गरेको छ।

पार्टीका महासचिव विप्लवले मंगलबार विज्ञप्ति जारी गरेर वार्ता टोली गठन गरिएको औपचारिक जानकारी गराएका छन्। पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवं प्रवक्ता प्रकाण्डको नेतृत्वमा उच्चस्तरिय वार्ता टोली गठन गरिएको विप्लव समूहले जनाएको छ।

‘नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत भएको छ। पार्टीका तर्फबाट वार्तामा सहभागी बन्न पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवं प्रवक्ता क।प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य क। दीपक रहेको दुई सदस्यीय उच्चस्तरिय वार्ता टोली गठन गरिएको जानकारी गराउँछौँ,’ पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सरकारी वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गरेका छन्। वार्ता टोली सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन्।

मंगलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी थापाको नेतृत्वमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरिएको जानकारी दिए।

सञ्चारमन्त्री गुरुङले सबै सशस्त्र समूह र द्वन्द्वमा रहेका सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउने नेपाल सरकारको स्पष्ट दृष्टिकोणको आधारमा वार्ता टोली गठन गरिएको बताए।

मन्त्री गुरुङले विप्लव समूहलाई लगाइएको प्रतिवन्ध, हतियार बिसाउने तथा नेता कार्यकर्तालाई लागेको मुद्दाको विषयमा वार्ताबाटै समस्या समाधान गरिने बताए।

Nabintech