१२ माघ २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
भागरथी हत्या प्रकरणमा लोकेसन ट्र्याक र स्वीकारी बयान प्रमुख आधार, यसरी भयो हत्या


बैतडी / माघ २१ गते विहान १० बजे दोगडाकेदार गाउँपालिका–७ का १८ वर्षिया दिनेश भट्ट सनातन धर्म माध्यमिक विद्यालय पढ्न गए । उनि सधैजस्तै विहान विद्यालय पुगे र कक्षा ११ का ‘क्लास’हरु लिए । तर, त्यसदिन उनिले अन्तिम ‘क्लास’ भने नपढि विद्यालयबाट निस्किए । दिउँसो करिव पौने दुई बजेको समयमा विद्यालयबाट आफ्नो घरतर्फ जानका लागि अन्य साथीहरुसँगै उनिपनि निस्किए । खोचलेक बजारमा साथीहरुसँग छुटिएर उनी घरतर्फ हिडेका थिए । सँगै घर भएकी र आफन्त पर्ने १७ वर्षिया भागरथी भट्टपनि घर फर्किदै थिइन् । दिनेशले भागरथीलाई पछाडी नै छाडेर अगाडी अगाडी घर हिडे । दिनेश घर पुगे तर आफुभन्दा पछाडी आइरहेकी भागरथी भने घर आईपुगिनन् ।

आफन्त, गाउँलेले भागरथी हराएको भन्दै साँझदेखी खोजविन शुरु गरे । राति अवेरसम्म कतैपनि अत्तोपत्तो लागेन । धेरैले खोचलेक बजारबाट उनि एक्लै घरतर्फ गएको बताए तर कता गइन र को सँग गइन भन्ने केही पनि खुल्न सकेन् । बजारबाट उनको घर पुग्न लवलेक जंगलको बाटो पनि पथ्र्यो । भोलिपल्ट अपरान्ह उनको शव सोही जंगल भएर जाने सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो । दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा उनको शव भेटिएको हो ।

उनको कसले र किन हत्या गर्यो शुरुमा केही पत्ता नै लाग्न सकेन् । केही दिनपछि आएको पोष्टमार्टम रिपोर्टले भट्टको टाउको र हातमा चोट लागेको देखाएको थियो भने घाँटी थिचिएका कारण मृत्यु भएको उल्लेख थियो । घटनापछि प्रहरीले धनगढीस्थित कुकुर शाखाबाट ट्याकर डग मगाएको थियो, जसले अभियुक्त खोचलेक बजारतिर गएको संकेत गरेको थियो । पोष्टमार्टम रिर्पोटमा बलात्कार गरेको समेत उल्लेख छ । प्रहरीले शुरुवातमै बलात्कार पछि हत्या वा हत्यापछि बलात्कार भएको आशंका गरेर अनुसन्धान शुरु गरेको थियो ।

देशमा राजनीतिक माहौल तातिरहेका बेला घटना भएपछि यसले विस्तारै राजनीतिक रंग समेत समाउन सक्ने आकंलन भईरहेको थियो । निर्मला पन्तको जस्तै यसले पनि राजनीतिक रंग लिने अनुमान भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफै डेरा कसेर बैतडी बसेका थिए । आन्दोलन हुन थालेपनि त्यही क्रममा प्रहरीले केही व्यक्तिसँग बयान र निगरानीमा राखेको थियो ।

नातामा आफ्नी दिदी पर्ने भागरथीका हत्यारालाई कारवाही हुनुपर्छ भनेर दिनेश पनि आन्दोलनमा सहभागी भईरहेका थिए । तर, उनको व्यवहार केही परिवर्तन भएको प्रहरीले नोटिस गरेको थियो । उनिसँग शुरुवाती बयान लिएपनि प्रहरीले त्यस्तो कुनै ठोस प्रमाण नपाएपछि छाडिदियो । दिनेशसँगै अन्य तीन जनामाथी निगरानी भने प्रहरीले राखिरहेको थियो । घटनाको १३ दिन पछाडी प्रहरीले मंगलबार राति दिनेशलाई पक्राउ गर्यो ।

उनलाई पक्राउ गरेपछि दोगडाकेदारमा खैलाबैला भयो । एउटै विद्यालयमा पढ्ने र विगतमा त्यस्तो कुनै व्यवहार नदेखाउने दिनेश घटनामा कसरी संलग्न भए भनेर बुधबार विहानैबाट उत्सुकता जागेको थियो । प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरेर दिनेशकै संलग्नतामा हत्या भएको निष्कर्ष निकालेको छ । उनको संलग्नता पुष्टि गर्न प्रहरीले तीन वटा आधार प्रस्तुत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधवार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रहरीले आरोपी त्यस क्षेत्रमा गएको देख्ने मानिस, लोकेसन ट्र्याक र स्वीकारी बयानका आधारमा पक्राउ गरिएको जानकारी दिएको छ । ‘हामीले आरोपित व्यक्तिको लोकेसन, आइ विट्नेस र स्वीकारी बयानका आधारमा पक्राउ गरेका हौं,’ डीआईजी सुवेदीले भने, ‘आरोपितको बारम्बारको बयान बाझिएको अवस्था र उसले गरेको गतिविधिले पुष्टि गरेको हो ।’

पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले चौतर्फी दबाबका बावजुद घटनाको अनुसन्धानमा सफलता मिलेको बताए । ‘अनुसन्धानकै क्रममा रहेकाले बलात्कारपछि हत्या या हत्यापछि भन्ने एकिन भएको छैन,’ डीआईजी सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘यो त प्रारम्भिक अनुसन्धान हो, अरू अनुसन्धान हुन बाँकी नै छ ।’ आरोपीले बयानका क्रममा हत्या गरेको स्विकार गरेपनि बलात्कार नगरेको भनेका छन् ।

पोष्टमार्टम रिपोर्टल बलात्कार भएको देखाएकाले प्रहरीले अन्य प्रमाणहरू विधिविज्ञान प्रयोगशालामा पठाइएको र त्यसको रिपोर्ट आएपछि थप कुरा खुल्ने बताएको छ । ‘फरेन्सिक ल्याबमा पठाएका छौं, त्यो आएपछि सार्वजनिक गर्छौं’, डीआईजी सुवेदीले भने । निजका गतिविधि, पोजिसन, साथीहरूको भनाइ आदिले उसको संलग्नता पुष्टि हुने प्रहरीको दाबी छ । ‘अनुसन्धानका क्रममा प्रमाण भेटेर पक्राउ गरेका हौं । उमेरका सम्बन्धमा पनि अनुसन्धान गर्दैंछौं’, डीआईजी सुवेदीले भने, ‘थप व्यक्ति छ कि छैन भन्ने अनुसन्धान गर्दैछौं ।’

यसरी भयो हत्या
विद्यालयबाट घर हिडेका दिनेश एक्लै सडकै–सडक हुँदै लवलेक जंगल पुगे । त्यहाँ भागरथीलाई मार्ने उद्देश्यले ढुकेर बसे । भागरथी आइपुगेपछि केही कुराकानी गर्ने क्रममा उनले सडकदेखि तल धकेली दिए र सडक क्षेत्रदेखि करिब ५० मिटर तल बलजफ्ती धकेल्दै लगे । त्यहाँ दुवै हातले घाँटी थिचेर हत्या गरे । मृत्युपछि भागरथीको पाइन्टसमेत घुँडासम्म फुकाले । डीआईजी सुवेदीले करणी भने गर्न खोजेको र त्यत्तिकै छाडेको प्रारम्भिक अनुसन्धानको क्रममा दिनेशले भनेको बताए ।

करणी गरेरनगरेको भन्नेबारे अनुसन्धान जारी रहेको पनि उनले बताए । उनका अनुसार यसरी क्रुरतापूर्वक भागरथीको हत्या गरेपछि भने भागरथीकै फोनको ब्याट्रीसमेत झिकेर दिनेश घटनास्थलनजिकै फाली सडकको बायाँ साइड हुँदै घरतर्फ गएको देखिएको छ । प्रहरीका अनुसार २ बजेर ४७ मिनेटमा भागरथीको मोवाइल अफ भएको थियो । मृतक भागरथीको दाइले जिल्ला प्रहरी कार्यालयमा दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसूरमा किटानी जाहेरी पनि दिएका छन् । जिल्ला अदालत बैतडीबाट उक्त कसूरमा अनुसन्धानका लागि पाँच दिनको म्याद थप अनुमति प्रहरीले पाएको छ । यसैबीच, भागरथीका दाजु केशव भट्टले अपराधीलाई हदैसम्मको कारवाही भएको हेर्न चाहेको बताएका छन् ।

केशवले ‘भागरथी हत्याका अपराधीलाई हदैसम्मको कारवाही होस’ भनेका हुन् । दाजु केशवका अनुसार आरोपित दिनेश नाताले १३ दिने दाजुभाइ ९हाडनाता० भित्रका हुन् । ‘हाम्रो घरभन्दा अलिक माथि छ, आफ्नै भाइ पर्छ’, केशवले भने, ‘त्यस्तो गर्ला जस्तो लगेको थिएन ।’ विगतका दिनमा के भएको थियो भन्ने विषयमा बोल्न नचाहेको उनले बताए । दिनेशले भने आफ्नी फुपूलाई भागरथीका बुबाले नराम्रो गरेका कारण त्यसको बदला लिनलाई आफुले हत्या गरेको बयान दिएका छन् । यद्यपी यस विषयमा दुवै परिवारले केही पनि भन्न चाहेका छैनन् ।

Nabintech