१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा निकट संगठनले भन्यो : जनतामाथि गरिने आक्रमण मान्य हुन सक्दैन


काठमाण्डौं/सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट बुद्धिजिवी संगठनले देशव्यापी रुपमा राजतन्त्रको पक्षमा भइरहेका आन्दोलनबारे ध्यानआकर्षण भएको जनाएको छ ।

नेपाल बुद्धिजीवी संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा र सह–संयोजक कृष्ण केसीले एक विज्ञप्ति जारी गर्दै जनताको व्यवस्थाप्रति गरिने यस्ता आक्रमण मान्य नहुने बताएका छन् । नेकपाभित्र वैचारिक बहसको संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै प्रतिगमनको खेलमा केही शक्ति लागेको उल्लेख गर्दै संगठनले यो प्रगतिशील बुद्धिजीवीका लागि मान्य नहुने जनाएको छ ।

‘जननिर्वाचित सरकारले जनअपेक्षा पूरा गर्न नसकेको आवरणमा जनताको व्यवस्थामाथि गरिने कुनै पनि प्रकारका आक्रमण प्रगतिशील बुद्धिजीवीका लागि मान्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

संगठनले जनताको सङ्घर्षले सत्ताच्यूत गरेका शक्तिहरु प्रतिगमनको खेलमा लागेको बताएको छ । लोकतन्त्रको बिकल्प अझ उन्नत, अझ परिस्कृत र अझ समृद्ध लोकतन्त्र मात्र हुने र प्रतिगमन वा प्रतिक्रान्ति हुन नसक्ने संगठनको ठहर छ ।

‘एसियाकै सबैभन्दा ठूलो एवं देशको सत्ताको बागडोर सम्हालेको कम्युनिस्ट पार्टी नेकपाभित्र चलेको वैचारिक बहसको संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै जनताको सङ्घर्षले सत्ताच्यूत गरेका शक्तिहरु प्रतिगमनको खेलमा लागेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘तर, लोकतन्त्रको बिकल्प अझ उन्नत, अझ परिस्कृत र अझ समृद्ध लोकतन्त्र मात्र हुन सक्दछ, प्रतिगमन वा प्रतिक्रान्ति हुनै सक्दैन ।’

नेकपाभित्र विद्यमान बहस विचारधारात्मक राजनीतिक कार्यदिशा, जनवादी केन्द्रीयताको संगठनात्मक प्रणाली, समाजवादको नेपाली मोडेल, लोकतान्त्रिक विधि र प्रक्रियाका पक्ष र विपक्षमा चलेको बहस भएको संगठनको ठम्याइ छ ।

विज्ञप्तिमा भनिएको छ, ’तसर्थ, नेकपाको जारी स्थायी समितिको बैठकबाट समाजवादी कार्यदिशा, जनवादी केन्द्रीयता र लोकतान्त्रिक विधि एवं पद्धतिका पक्षमा निर्णय गर्दै नेकपालाई एउटा सच्चा मार्क्सवादी पार्टीका रुपमा अगाडि बढाउन र प्रतिगमनकारी शक्तिहरुका विरुद्धको संघर्षमा निर्णायक विजय हासिल गर्न हामी नेकपाका समस्त नेता–कार्यकर्तामा हार्दिक आव्हान गर्दछौं ।’

Nabintech