२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
‘डा. सापकोटाको निधनले कर्णालीवासीलाई अपुरणीय क्षति’


कर्णाली । हाडजोर्नीको समस्या देखिनासाथ कर्णालीमा सबैले सम्झिने नाम थियो डा। हरि सापकोटा । तीन दशकसम्म कर्णालीमा रहेर सेवा गर्दा उनि सबैमाझ परिचित तथा बिरामीका लागि प्रिय कहलिएका थिए । उनको बिहीबार नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु भएपछि कर्णालीवासी स्तब्ध छन् । सहकर्मी चिकित्सक, स्वास्थ्यकर्मी मात्र होइन, उहाँबाट सेवा लिएका बिरामी तथा आफन्त भरसिलो डाक्टर गुमाउनुपर्दा पीडामा छन् ।

डा। सापकोटा कार्यरत प्रदेश अस्पतालका निर्देशक डा। डम्बर खड्काले उनको निधनबाट सिङ्गो कर्णाली प्रदेशलाई अपुरणीय क्षति पुगेको बताए । ‘सिनियर चिकित्सक बस्न नरुचाउने समयमा उहाँले सुर्खेतमै बसेर लामो समय सेवा गर्नुभयो,’ डा खड्काले भने, ‘उहाँजस्तो अनुभवी चिकित्सक पाउन कर्णालीले धेरै वर्ष पर्खनुपर्छ, उहाँको निधनबाट प्रदेश अस्पताललाई मात्र नभई कर्णाली र पाँच नम्बर प्रदेशलाई ठूलो क्षति पुगेको छ ।’

सापकोटा प्रदेश अस्पतालमा ११ औँ तहमा वरिष्ठ अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए । अस्पतालबाट बचेको समय वीरेन्द्रनगरको देउती नर्सिङ होममा उपयोग गरेका उनलाई बिरामीको उपचार गर्दागर्दै कोरोना संक्रमण देखिएको थियो । भदौ ३० गते कोरोना पुष्टि भएपछि प्रदेश अस्पतालले नेपालगञ्जको भेरी अस्पतालमा रेफर गरेको थियो । बाँकेको खजुरा निवासी ५९ वर्षीय सापकोटा मधुमेह र उच्च रक्तचापका दीर्घरोगी थिए । उनका एक छोरा र एक छोरी छन् ।

असोज १ गतदेखि भेरी अस्पतालमा उपचाररत सापकोटालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप सुविधासम्पन्न अस्पताल लैजाने प्रयास गरिएको थियो । तर, अक्सिजन स्याचुरेसन निकै कम हुँदा बाटोमै जोखिम हुनसक्ने हुँदा भेरी अस्पतालमै कृत्रिम श्वासप्रश्वास प्रणालीबाट अक्सिजन दिइएको थियो । कर्णाली प्रदेश सरकारले सापकोटाले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उचित सम्मान गर्ने भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा बसेको प्रादेशिक कोभिड विपद् व्यवस्थापन समितिको बैठकले यससम्बन्धी आवश्यक प्रस्ताव लैजान सिफारिस गर्ने निर्णय गरेको हो । सामाजिक विकास मन्त्रालयले पनि शोक वक्तव्यमार्फत डा। सापकोटाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

त्यस्तै, प्रदेश स्वास्थ्य निर्देशक डा। रविन खड्काले सापकोटालाई राज्यले तत्काल स्वास्थ्य शहीद घोषणा गर्नुपर्ने, प्रदेशमा बन्ने सरुवा रोग अस्पतालको नामकरण उहाँकै नामबाट गरिनुपर्ने बताए ।

‘कोभिड १९ विरुद्ध लड्दालड्दै हामीले विशेषज्ञ चिकित्सक गुमायौँ, अहिले पनि स्वास्थ्यकर्मी जोखिममा रहेर काम गरिरहेको अवस्था छ’, उनले भन्नुभयो, “सरकारले कोभिडविरुद्धको अग्रमोर्चामा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको उच्च मनोबल बढाउन आवश्यक सेवा–सुविधा वृद्धि गर्नुपर्छ ।’ डा। सापकोटा कोरोनाका कारण ज्यान गुमाउने पहिलो चिकित्सक हुन् । – रासस

Nabintech