९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्तीसोनारीका हाकिमलाई गाडी मोह


कोहलपुर / कोरोनाको महामहारीले देश संकटमा परेका बेला राप्तीसोनारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतको गाडी मोह देखिएको छ ।कोरोना भाइरस कोभिड–१९० को महामारीका बेला जोखिम व्यवस्थापन कम गर्न रकम अभाव भइरहेको बेला राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले स्कार्पियो गाडी खरिद गरेका छन् ।महामारीका बेला अधिकृत बस्नेतले गाडी खरिद गरेपछि राप्ती सोनारी गाउँपालिका स्थानीयलगायत जनप्रतिनिधि समेत रुष्ट बनेका छन् । ४४ लाख ९५ हजार रुपैयाँ परेको उक्त गाडी भुसाल इन्टरनेशनल नेपालगन्जबाट खरिद भएको जिन्सी शाखाका महेन्द्र खड्काले बताए ।

गाडी खरिदका लागी गाउँपालिका बोर्ड बैठकबाट पारित गराउनु पर्ने भए पनि प्रशासकीय अधिकृत बस्नेतले जनप्रतिनिधिलाई थाहै नदिई गाडी किनेको आरोप लागेको छ । ठूलो रकम खर्च गर्दा अनिवार्य रूपमा बोर्ड बैठकबाट पास गराउनु पर्छ । असार मसान्तको कोलोजिङका बेला प्रशासकीय अधिकृतबाट गाडी किन्ने प्रस्ताव बोर्ड बैठकमा आए पनि त्यस विषयमा छलफल नै नभएर गाडी किनिएको नाम नबताउने सर्तमा एक जनप्रतिनिधिले बताए ।

ती जनप्रतिनिधिका अनुसार यो महामारीका बेला गाडी खरिद प्रक्रियालाई पछि सार्न भने पनि प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने भन्दै एक्कासि गाडी आएपछि अचम्म लागेको बताए । गाउँपालिकामा यस अघि नै दुईवटा गाडी छन् । टाटा जिनानको एउटा गाडी र अर्को स्कार्पियो । गाउँपालिकामा दुईवटा गाडी पहिलेदेखि नै भए पनि अधिकृतले आफ्नो व्यक्तिगत सेवा सुविधाको लागि गाडी किनेको अधिकृत बस्नेतमाथि आरोप लागेको छ ।

यस अघि पनि बोर्ड बैठकबाट निर्णय नभएका कुरालाई कागजी रूपमा आफूखुसी पछिबाट घुसाउने प्रवृत्तिले गर्दा कर्मचारीले मनोमानी तवरले आफूपायक काम गर्ने गरेको आरोपसमेत एक जनप्रतिनिधिले लगाए । लामो समय देशमा जारी लकडाउन, निषेधाज्ञा, डुबान र कटानका कारण जनतालाई दुई छाकको जोहो गर्न सकस भइरहेको बेला स्कार्पियो गाडीलाई पहिलो प्राथमिकतामा राखेर अधिकृत बस्नेतले गाडी झिकाएपछि राप्तीसोनारी–२ स्थित कचनापुरका स्थानीय रुष्ट बनेका छन् ।

उक्त क्षेत्रमा बर्षातको समयमा राप्ती नदीमा उर्लेर आउने बाढीले बर्सेनि स्थानीयको दशौं विघा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ । बर्सेनि बाढीले खेतीयोग्य जमिन कटान गरे पनि स्थानीय टुलुटुलु हेर्न बाध्य छन् । यसरी वर्षातको समयमा उर्लेर आएको बाढीले कचनापुर, टिकुलीपुर, मदुई, हरिहरपुर, राजपुर, शम्शेरगन्जका खेतीयोग्य जमिन बर्सेनि कटान त गरिनै रहेको छ भने अर्कोतर्फ ती वस्तीसमेत कटानको उच्च जोखिममा रहेका छन् ।

गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृतसहितको टोली कटान क्षेत्रको अनुगमनमा आए पनि स्थानीयको समस्यालाई बेवास्ता गरी रकम अभाव देखाएर कटान समस्या समाधान गर्नुको साटो अधिकृत बस्नेतले लाखौं रुपैयाँको गाडी किनेका छन् । बोर्ड बैठकमा छलफल नै नभएर गाडी किनियो । बैठकमा गाडी किन्ने बारे प्रस्थाव आए पछि त्यस विषयमा छलफल हुन नपाउँदै गाडी किनिएको हो,’ राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष मदन ओलीले भने,‘ गाउँपालिकामा दुईवटा गाडी पहिलेदेखि नै थियो ।यस्तो बेलामा लाखौं रुपैयाँको गाडी किनेर डुबान र कटान पीडितको समस्यालाई बेवास्था गरियो ।’ बोर्ड बैठकमा छलफल नभएका र केही निर्णय पछि घुसाइने प्रवृत्तिले पनि यस्तो समस्या आएको अध्यक्ष ओलीले बताए ।

Nabintech