९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जोखिममा सुत्केरी – ७३ को मृत्यु, १३३ को उद्धार


काठमाडौं / कोभिड–१९ का कारण उत्पन्न लकडाउन र निषेधाज्ञाको प्रभाव सुत्केरीमा देखिएको छ । कोरोनाका कारण चैत ११ देखि साउन ७ गतेसम्म लकडाउन भयो । त्यसपछि जिल्ला र स्थानीय तहले अवस्था हेरेर लकडाउन र निषेधाज्ञा लगाईरहेका छन् । यो अवधिमा अस्पताल जान हिच्किचाएका र जान नपाएका ७३ सुत्केरीको ज्यान गएको छ ।

लकडाउन र निषेधाज्ञाका कारण घरमै सुत्केरी गराउदा देखिएका विभिन्न जटिलताबाट ७३ जना सुत्केरी महिलाको मृत्यु भएको हो । कोरोनाका कारण सुत्केरी हुनका लागि अस्पताल तथा स्वास्थ्य संस्था नजाने र घरमै सुत्केरी हुँदा मृत्यु हुनेको संख्या बढेको बताइएको छ । स्वास्थ्य सेवा विभागअन्तगर्तको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा मातृ तथा नवजात शिशु शाखा प्रमुख डा। पुन्या पौडेलले गत चैतदेखि साउनसम्म सुत्केरी हुँदा देखिएका विभिन्‍न जटिलताबाट ७३ जनाको मृत्यु भएको जानकारी दिएकी छन् ।

कोरोनाका कारण जेठ ३ गते सुत्केरी महिलाको मृत्यु भएपछि मानिसमा त्रास उत्पन्न भएको थियो । जसका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको दर पनि घटेको छ । पछिल्लो पाँच महिनामा गर्भ जाँच गर्न स्वास्थ्य संस्थानमा जाने गर्भवतीको संख्या घटेको डा। पौडेलले जानकारी दिइन् । ‘अस्पताल तथा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको दर पनि घटेको छ’, उनले भनिन्, ‘मृत्यु भएकाहरुमा सुत्केरी भएको ४८ घण्टाभित्र अत्यधिक रक्तश्राव र कम्पन भएको देखिन्छ ।’

शाखा प्रमुख पौडेलले कोरोनाको कारण देखाएर घरमै सुत्केरी नगराउन आग्रह गर्दै जतिसक्दो चाँडो अस्पताल लैजान आग्रह गरेकी छन् । उनले सुत्केरीमा कोरोना देखिएपनि मास्क प्रयोग गरेर बच्चालाई स्तनपान गराउन सकिने बताइन् । गर्भवती तथा सुत्केरीहरुलाई वाकवाकी लागेमा, टाउको दुख्‍ने, रक्तश्राव भए, ज्वरो आए, कम्पन भएमा तुरुन्तै स्वास्थ्य संस्थाहरुमा जान आग्रह उनले गरिन् । सुत्केरी हुन गर्भवती महिला अस्पताल तथा स्वास्थ्य संस्था जान उनले आग्रह गरेकी छन् ।

यद्यपी सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको भने उद्धार जारी राखेको छ । लकडाउन सुरु भएदेखि अहिलेसम्म देशभरबाट १३३ गर्भवती तथा सुत्केरीको उद्धार गरेको हवाई उद्धारसम्बन्धी समन्वय इकाई प्रमुख अञ्जु ढुंगानाले जानकारी दिइन् । विकट जिल्लाहरु हुम्ला, डोल्पा, अछाम, बाजुरा, धादिङ, दोलखा, खोटाङलगायत जिल्लाबाट उनिहरुको उद्धार गरिएको हो ।

उद्धार गरिएकाहरुमध्ये २२ जना २० वर्षभन्दा कम उमेरका किशोरी छन् । स्वास्थ्य अवस्था जटिल भएका, यातायातको पहुँच नभएका, दुर्गम क्षेत्र र आर्थिक अवस्था कमजोर भएका गर्भवती तथा सुत्केरीको सरकारले उद्धार गर्दै आएको छ । लामो समय सुत्केरी व्यथा लागेर बच्चा जन्माउन समस्या भएको, गर्भमा नै बच्चाको ज्यान गएको, गर्भवती अवस्थामा शरीर सुन्निएको, सुत्केरी भएपछि धेरै रगत बगेका, रक्तअल्पता भएका गर्भवती र स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवतीको उद्धारको काम हुँदै आएको छ ।

सडक सञ्जालको पहुँच नपुगेका दुर्गम हिमाली तथा पहाडी ३० जिल्लामा पूर्ण र ४ जिल्लाका २० दुर्गम पालिकामा निःशुल्क हवाई उद्धार हुँदै आएको छ । नेपालमा घरमा नै सुत्केरी हुँदा स्वास्थ्य जटिलता भएर ज्यान गुमाउनुपर्ने अवस्था अहिले पनि छ । गर्भवती तथा सुत्केरी हुँदा समस्यामा परेकाहरुका लागि बेलैमा उद्धार गर्न सके उनीहरुको ज्यान जोगाउन सकिन्छ । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि २०७५ सालदेखि यो कार्यक्रम लागू भएको भए पनि उद्धारको काम भने वि।सं। २०७६ साउन १ गतेदेखि सुरु भएको थियो ।

Nabintech