४ माघ २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बन्दाबन्दीमा पनि रोकिएन मानव बेचबिखन


बाँके / बन्दाबन्दीको समयमा पनि बाँकेबाट १२ जना चेली हराएका छन् । राम्रो काम र दामको प्रलोभनमा पारेर दलालले १२ जना चेलीलाई बेपत्ता बनाएका छन् ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १४औं राष्ट्रिय दिवसको अवसरमा माइती नेपाल, नेपालगन्जले सार्वजनिक गरेको तथ्यांकमा १२ जना चेली बेपत्ता भएका छन् । बन्दाबन्दीको समयमा १७ जना चेलीको खोजतलासको निवेदन परेकोमा ५ जना भेटिएको माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । ‘राम्रो काम लगाइदिने प्रलोभन देखाएर दुई किशोरीलाई काठमाडौं पुर्‍याइएको थियो’, कोइरालाले भन्नुभयो–‘उनीहरुको उद्धार गरेर परिवारको जिम्मा लगाएका छौं ।’

चैत ११ गतेदेखि देश लकडाउन थियो । यातायात चलेका थिएनन् । एक जिल्लाबाट अर्को जिल्लामा जान कठिनाइ थियो । यो बेलामा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना भएका छन् ।

मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपालमा जोखिमपूर्ण यात्रामा रहेका र सम्पर्क नभएका चेलीका घरपरिवारले खोजतलासका लागि निवेदन दिने गर्दछन् । यो वर्ष माइती नेपालको नेपालगन्ज कार्यालयमा ५ सय ८५ जनाको खोजतलासको निवेदन परेको थियो । त्यसमा २ सय ८० जना भेटिएको कोइरालाले जानकारी दिनुभयो । कोइरालका अनुसार, यो निवेदन विगतको वर्षमा भन्दा कम संख्या हो ।

मानव दलालले रोजगारीको प्रलोभन देखाउँदै भारत तथा तेस्रो मुलुकमा चेलीलाई पुर्‍याउने गर्दछ । यस्तो जोखिमपूर्ण यात्रामा रहेकाहरुले दुःख पाउँदा वा घरपरिवारको सम्पर्कमा नआउँदा खोजतलासको निवेदन पर्ने गरेको छ ।

लामो लकडाउनले गर्दा भारत तथा तेस्रो मुलुकमा यात्रा गर्न बन्द भएपनि आन्तरिक बेचबिखनको खतरा बढेको कोइरालाको बुझाई छ । ‘तेस्रो मुलुक जान बन्द रहेको छ । भारत जान पनि कडाइ छ । चेली हराउने क्रम भने रोकिएको छैन’, कोइरालाले भन्नुभयो–‘आन्तरिक बेचबिखनको खतरा बढेको छ ।’ यो खबर आजको समाचारपत्र दैनिकमा छ ।

Nabintech