११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोनाको कहरकाबीच आज हरितालिका तीज मनाईदै

निषेधाज्ञा र प्रतिबन्धले मन्दिर जान नपाए पनि महिलाहरुले घरमै नाचगान गर्दै



कोहलपुर / आज हरितालिका तीज । तीजको अवसरमा मन्दिर जाने हिन्दू धर्मावलम्बी महिलाहरु घरमै सीमित भएका छन् । तर कतिपय जिल्लाका शिवालय मन्दिरहरुमा हिन्दू धर्मावलम्बी महिलाहरुको घुइँचो लागेको छ ।
आफूले चिताएको मनोकांक्षा पूरा हुने विश्वासका साथ हिन्दू नारीहरुले तीजलाई विशेष पर्वका रुपमा मनाउँदै आएका छन् । आज हिन्दू नेपाली महिलाहरु घरमै परिवारका सदस्यसँग नाच गानसँगै ब्रत बसेका छन् ।
पौराणिक कथनअनुसार पार्वतीले शिवजीलाई पति पाउँ भन्दै व्रत बसेको सम्झनामा आज हिन्दू नारीहरु व्रत बस्ने गर्दछन् । विवाहित नारीहरु आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु एवं पारिवारिक सुख समृद्धिको कामनाका साथ व्रत बस्दछन् भने अविवाहिताहरु भने योग्य वर पाउँ भन्दै व्रत बस्ने मान्यता छ ।
निषेधाज्ञा र विभिन्न प्रकारका प्रतिबन्धले मन्दिर जान नपाए पनि महिलाहरुले घरमै नाचगान, भजन कीर्तन गर्दै उमंगका साथ भगवान शिवको प्रार्थना, पूजा गर्ने तयारी गरेका छन्।
तर, घरमै परिवारका सदस्य जम्मा भएर नाचगान भने बिहानैदेखि सुरु भएको छ । नेपाली समाजमा तीज पर्वका अवसरमा गाइने गीतमा नारीहरुका व्यथा, परिवारमा पाएका दुःख र माइती तथा घरको सम्बन्धको बारेमा चित्रण पाइन्छ ।
तर, यसमा पछिल्लो समय केही विकृति आएको र तीजको गीतहरु भड्किलो बन्दै गएको भन्ने गुनासो पनि आउने गरेको छ । त्यस्ता गीतहरुको आलोचना पनि हुने गरेको छ ।
यस्तै तीजको दर खाने परम्पराको आधुनिकीकरणका नाममा केही हप्ता पहिलैदेखि भड्किलो रुपमा दर खाने प्रचलन हुन थालेको भन्दै संस्कृतिविद्हरुले त्यस्ता गतिविधिप्रति चिन्ता प्रकट गर्दै पनि आएका छन् ।
आजको दिन हिन्दू नारीहरुले आफ्नो सौभाग्य, परिवारको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ । यद्यपी विज्ञहरुले भने व्रत बस्दा आफ्नो स्वास्थ्य, शारीरिक तन्दुरुस्तीलाई पनि ध्यान दिन सुझाव दिएका छन् ।

(फाइल तस्बिर)

Nabintech