९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
तिजको अर्थ सामाजिक र साँस्कृतिक पक्ष

परम्परागत शैलीबाट रंगीचंगी मात्र होइन खर्चिलोपनि



नेपालमा मनाइने ठूला पर्वको श्रृंखलामा हरितालिका तिज आरम्भ मानिन्छ । यही चाडको आगमनबाट खर्चको जोहो र ऋणको जोरजाम सुरु हुने गरेको छ । बदलिँदो शैलीले तिजलाईपनि परिवर्तन गराइदिएको छ । परम्परागत शैलीको तिज आज अवस्था अनुसार रंगीचंगी मात्र होइन खर्चिलोपनि बनाइदिएको छ ।

चाडपर्वको छुट्टै साँस्कृतिक महत्व छ । हिन्दु महिलाहरूको यो परम्परामा आजकल सबै जाति, समुदायको राम्रै मिश्रण भएको पाइन्छ । विधिअनुरुप ब्रत बसेर भनेजस्तै पुरुषको प्राप्ति, आफ्नो स्वास्थ्य र दीर्घायुसँगै प्रगतिको कामना हुने विश्वासका साथ तिज मनाउने चलन छ । हिजोआज सहरी तथा अध्र्व सहरी क्षेत्रमा तिज भड्किलो बन्दै गएको छ भने पश्चिमा शैलीका गाना र बजानाले सहर ढपक्कै ढाकेको छ । यसले एकातिर उत्ताउलो गतिविधिलाई आत्मसात गर्दै गएको छ भने अर्कोतिर तिजको मौलिकतालाई मास्न खोजेको गुनासोहरूपनि यत्रतत्र आएका छन् ।

तिजको सुरु हुने समय ठ्याक्कै नभएपनि भारत वर्ष विशेष गरी उत्तर भारत एवम् नेपालमा पौराणिक समयदेखि नै यो परम्परा चलिआएको पाइन्छ । हाम्रो समाजमा यो पर्वको छुट्टै मौलिक परम्परा विकास भएको हुनालेपनि तिज विशुद्ध नेपाली पर्व हो भन्न सकिन्छ । किनकी यो पर्व नेपालका महिलाहरूले मात्र मनाउँछन् । नेपाली जनजीवनको सामाजिक(साँस्कृतिक पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई मज्जाले बोकेको छ जसलाई विभिन्न स्वरुपमा यो पर्वमार्फत प्रकट गरिन्छ । तिजमा महिलाहरूले प्रयोग गर्ने गहना र पहिरनको छुट्टै महत्व रहेको पाइन्छ । धार्मिक सँस्कारयुक्त तिज सर्वमान्यतामा आधारित छ ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन तिज मनाउने गरिन्छ । तिजको अघिल्लो रात द्वितियाको दिन दर खाने गरिन्छ । तिजको दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी ब्रतको पारण खाने गरिन्छ भने तिजको तेस्रो दिन अर्थात ऋषिपञ्चमीको दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपान गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने चिलाउने हटाउने विश्वास छ । पञ्चमीको दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदिग्न तथा वशिष्ठ ऋषिको पूजाआजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलोको तरकारी खाइन्छ । त्यो दिन श्रीमानले पकाएको खाना खाए आपसी आत्मीयता एवम् सद्भाव बढ्ने विश्वास पनि गरिन्छ ।

तिजमा महिलाहरूले प्रयोग गर्ने गहना र पहिरनको छुट्टै महत्व रहेको पाइन्छ । धार्मिक सँस्कारयुक्त तिज सर्वमान्यतामा आधारित छ । सो दिन महिलाहरूले लगाउने रातो साडीले सुख, समृद्धि र साहसको प्रतिकको रुपमा मानिन्छ । रातो रंगले मायाँ सँगै अलौकिक शक्ति प्रदान गर्ने विश्वास पनि गरिन्छ । पहिरिएको पोतेले शान्ति र आनन्दलाई इँगित गर्दछ भने रातो टिकालाई सौभाग्यको रुपमा हेरिन्छ । स्वच्छ हृदय भएर ब्रत बस्नाले मनोआकांक्षा पुरा हुने धार्मिक विश्वासमा तिज आधारित छ । यो पर्वमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने हुन्छ । पुरुपषभक्त हुन गरिने व्रत तिजमा महिलाले गरेको धार्मिक विधिले श्रीमानको दीर्घायु, सुस्वास्थ्य र प्रगति हुने मान्यतामा आधारित छ ।

यस्तै तिजको सामाजिक पक्ष अर्को महत्वपूर्ण पाटो हो । उसैपनि कृषिप्रधान मुलुक, बालीनाली थन्क्याइसकेपछि दुःख सुखका कुरा साटासाट गर्ने वातावरण तिजले प्रदान गरेको छ । अन्यबेला फुर्सद नहुने हाम्रो समाजमा चाडवाडको बेला नै सबै कुराहरू साटासाट हुन्छन् । सबै इष्टमित्र भेटघाट गर्ने, प्रगतिसँगै अभावका कुराहरू बाँडचुँड गर्ने, सम्बन्ध अझ प्रगाढ बनाउने यो पर्वले आपसी सम्बन्धलाई मजबुद बनाएको देखिन्छ । विवाह भएर टाढा पुगेका दिदी बहिनीहरूलाई नजिक बनाउँदै मन हलुका पार्न सुख दुःखका कुराकानी गर्ने अवसरको रुपमा पनि तिज लोकप्रिय बनेको छ । सामाजिक रुपमा तिजले फाइदा मात्र पुगेको देखिएपनि खाने सँस्कारमा आएको परिवर्तनले आर्थिक भारमा पनि बाध्यता सिर्जना गरिदिएको छ । दर खाने र पठाउने क्रममा माइतीबाट छोरीको घरमा सम्धिनीलाई मात्र उपहार नभएर सो घरका सम्पूर्ण महिला सदस्यलाई समेत गरगहना, पहिरन, जुत्ता, श्रृंगारका सामान आदि र ११ किसिमका परिकार पठाउनुपर्ने चलनले थोरै असहजताको महशुष गराएको भने देख्न सकिन्छ । समाजमा यस्तो गलत शैली हाबी हुँदैजाँदा तिजको अर्थ र गराइमा फरकपन देखिन थालेको छ । यस्तो चलन झाँगिदै जाँदा धेरै बुहारी भएको घरमा प्रतिश्पर्धाको गलत चलन बढ्न गएको छ । यहि सरसामानको कारण होच्याउने, गर्वगर्ने गलत प्रवृत्ति बढेको छ । आधुनिक महिलाहरूले अन्धविश्वास चिर्ने नाममा परम्परालाई गलत तरिकाले बेप्रयोगमा तिज केन्द्र बनाउँदै लगिएको छ ।

पछिल्लो समय पुरातन नाम जोडेर गरिएका भड्किलो कार्यक्रमहरूले भने साँस्कृतिक पक्षलाई ओझेलमा पार्दै लगेको छ । सँस्कार र सँस्कृतियुक्त हरितालिका तिजलाई उत्ताउलो र खर्चमूखी बनाउँदै लगिएको छ । आधुनिकीकरणको नाममा परसँस्कृतिका गानामा तिजको भड्किलो व्यापार गरिँदैछ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वास चिर्ने नाममा परम्परालाई गलत तरिकाले बेप्रयोगमा तिज केन्द्र बनाउँदै लगिएको छ । जुन तिजको नाममा देशमा भित्रिएको नकारात्मक पक्ष हो । यस्ता गलत शैली हाबी हुँदा आर्थिक भार मात्र होइन मौलिक सँस्कृतिमा पनि कडा प्रहार हुन पुगेको छ ।

तसर्थ, चाडबाडहरुलाई सभ्य तरिकाले मनाउँदै सदियौँ देखिको परम्परा र मान्यतालाई जीवन्तता दिनु आधुनिक नारीको पहिचान भित्र पारिनुपर्दछ । होटलमा पार्टी गरेर होहल्ला गरी ऋणको तिज नभएर सँस्कारमूखी तिजतर्फको यात्रा दिगो हुन्छ । महँगा गहना, खानपिन, हल्ला, देखासिखि आदिको नामाकरणमा नभइ मौलिक सँस्कृतिको संरक्षण र सम्बद्र्धनमा चाडपर्व मनाउनुपर्ने आजको आवश्यकता हो ।

चाडबाडमा देखिएको सबैभन्दा ठूलो बिकृति हो, मदिरा सेवन । यस्ता कैयन् असरहहरु समाजमा पर्छन् । यो पक्षले गर्दा घरमा झगडा र दीर्घरोगी बनाएको घटनाहरुपनि धेरै पाइन्छन् । यस्तो नकारात्मक शैली समाजमा बढ्दैजाँदा सँस्कारमा रहेर ब्रत बस्नेलाई अत्यन्त पीडा थपिदिएको छ । तर, व्रतको समयमा नखाइ बस्नुपर्छ भन्ने मान्यताका कारण शरीरको ख्याल गर्नु अत्यन्त जरुरी पक्ष हो ।

Nabintech