९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राजस्व कार्यालय आइतवारबाट पुनः सञ्चालनमा आउने


नेपालगन्ज/ आठ जना कर्मचारी उनका आफन्तसहित १३ जनामा संक्रमण भेटिएपछि साउन ९ गतेदेखि बन्द रहेको नेपालगञ्जस्थित आन्तरिक राजस्व कार्यालय तीन सातापछि आइतवारबाट पुनः सञ्चालनमा आउने भएको छ ।
उक्त कार्यालयको कर्मचारी निवासलाई नै आइसोलेसन बनाएर संक्रमितहरुलाई त्यहाँ राखिएकोले सो कार्यालयलाई बन्द गरिएको थियो ।
सो कार्यालयका एक जना अधिकृतलाई साउन ८ गते संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा ८ जना कर्मचारी र उनका ५ जना आफन्त संक्रमित भेटिएका थिए ।
एउटै कार्यालयमा १३ जना संक्रमित भेटिएपछि कार्यालयको परिसर र कर्मचारी निवासलाई आइसोलेसन सेन्टर बनाईएको थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेलले कार्यालयका सबै संक्रमित कर्मचारी र उनका आफन्त विहिबार निको भएर डिस्चार्ज भैसकेपछि आइसोलेसन समाप्त गरेर त्यहाँ सेनेटाइज गरिएको बताए ।
उनले कार्यालय भवनलाई ३ पटक सेनेटाइज गरिसकिएको जनाउँदै विहिबार कर्मचारी निवासलाई पनि सेनेटाइज गरिएकोले आइतवारबाट कार्यालय सुचारु गरिने बताए ।
विभिन्न आवश्यक कामले राजस्व कार्यालयमा आउन चाहने सेवाग्राहीहरुलाई ढुक्क भएर आइतवारदेखि आएर सेवा लिन आउन आन्तरिक राजस्व कार्यालयले बाँके र बर्दियाका सेवाग्राहीसंग आग्रह गरेको छ ।
कार्यालय र कर्मचारी निवास दुबै ठाउँलाई राम्ररी सेनेटाइज गरिएकोले कुनै पनि दुविधा नराखेर सेवा लिन आउन सेवाग्राहीलाई आग्रह गरिएको हो ।

बाँकेका कोरोना समपर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार विहिबार बाँकेमा निको भएर डिस्चार्ज भएका ३० जना मध्ये आन्तरिक राजस्व कार्यालयका ७ जना कर्मचारी र उनका ५ जना आफन्त गरेर १२ जना रहेका छन् । ती मध्ये ९ जना पुरुष र ३ जना महिला रहेका छन् ।
यसैगरि डिस्चार्ज हुने अन्यमा त्रिभुवन चोकको मिठाई पसलेका आफन्त र सम्पर्कमा आएका १६ जना तथा कोहलपुर र राप्तीसोनारीका एक–एकजना रहेका छन् ।
योसंगै बाँकेमा कोरोना भाइरस संक्रमण जित्नेको संख्या ४३५ पुगेको छ । हालसम्म जिल्लामा संक्रमित हुनेको संख्या ६ सय ६७ पुुगेको छ । तीमध्ये तीनजना संक्रमितको मृत्यु भइसकेको छ भने २२५ जना अझै पनि आइसोलेसनमा छन् ।

Nabintech