काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सेमी लकडाउनुका लागि महत्वपूर्ण निर्णय हुने बालुवाटार स्रोतले जनाएको
छ ।
कोभिड १९ संकट व्यवस्थापन सेन्टर सिसिएमसी)ले भदौ एक गतेदेखि खोल्ने भनिएको अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न आइतबार सिफारिस गरेको थियो ।
भदौ १५ गतेसम्म यातायात नखोल्न र हवाई उडान सुरु नगर्न सिसिएमसीले गरेको सिफारिसका विषयमा आजको बैठकले निर्णय गर्नेछ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको सार्वजनिक यातायात पनि बन्द गर्न उपत्यका मेयर फोरमले गरेको मागका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।
यसअघि साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको यातायात र हवाई उडान सुरु गर्ने निर्णय गरेको थियो ।
अब विद्यालय भर्ना लगायतका शैक्षिक गतिविधि पनि असोजपछि मात्र सञ्चालन गर्नेगरी सरकारले तयारी थालेको छ । सिसिएमसीले बैंक तथा वित्तिय संस्थामा ५० प्रतिशत कर्मचारीबाट काम चलाउन र बाँकीलाई १५/’१५ दिनमा आलोपालो गर्नका लागि पनि सिफारिस गरेको छ ।
बैठकले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा थप कडाइ गर्न र भारतबाट आवात जावत हुने विन्दु जम्मा १० वटा तोक्नका लागि पनि सिफारिस गरेको छ ।
आजको बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि महत्वपूर्ण निर्णय गर्नेछ ।