काठमाण्डौं/ थारुहट थारुवान मोर्चाहरुले रेशम चौधरीलाई रिहा गर्न माग गरेका छन् । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले शनिबार कैलालीमा एक पत्रकार सम्मेलन गर्दै ३ महिना भित्र राज्यले टिकापुर घटनाको समस्या समाधान नगरे सरकारलाई नै बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।
उनले टीकापुर प्रकरणमा थुनामा रहेका रेशमलाल चौधरी सहितका ११ जनालाई ३ महिना भित्र रिहा नगरे सरकार र सरकारमा रहेका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई बहिस्कार गरिने चेतावनी दिए ।
त्यस्तै मोर्चाले यसका लागि संघर्षका कार्यक्रम पनि सार्वजनि गरेको छ । जसअनुसार साउन २५ मा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, भाद्र २ मा मानव अधिकार र नागरिक अगुवाहरुसँग छलफल गर्ने, भदौ ७ मा विरोध सभा गर्ने र भदौ ८ टीकापुर घटनालाई स्मरण गर्दै कालो दिनको रुपमा मनाउने रहेको छ ।
असोज ३ मा देशव्यापी संविधानका धारा जलाउने र त्यतिन्जेलसम्म पनि माग पूरा नभए नयाँ आन्दोलनका कार्यक्रमहरु तय गरिने मोर्चाले जनाएको छ ।