१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रधानमन्त्री र विज्ञबीच परामर्श

लकडाउन गर्ने कि नगर्ने भन्ने विषयमा परामर्श गर्दै प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमण नियन्त्रणका लागि जनस्वास्थ्यविज्ञसँग परामर्श गर्दैछन् ।

समूदायमा कोरोना संक्रमण फैलिएपछि रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यविज्ञहरूलाई बोलाएर छलफल गर्न लागिएको सीसीएमसी निकट स्रोतले बाह्रखरीलाई जानकारी दियो । स्रोतका अनुसार जनस्वास्थ्यका क्षेत्रमा कार्यरत विज्ञहरूलाई मंगलबार बिहान ११ बजे बालुवाटार बोलाइएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि छलफल गर्न लागिएको जानकारी गराए ।

यसअघि पनि लकडाउन खुकुलो बनाउन र परीक्षणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले विज्ञसँग परामर्श गरेका थिए । मंगलबारको छलफल यसैको निरन्तरता भएको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीले गत जेठ २१ गते यस्तै परामर्शको आयोजना गरेका थिए । त्यतिबेला विज्ञहरूले क्वारेन्टिनको सुधार, परीक्षणको दायरा बढाउन सुझाव दिएका थिए ।

“दोस्रो चरणको लकडाउनको कार्ययोजना त बनेको छैन । विज्ञहरूले के सुझाव दिनुहुन्छ, त्यसआधारमा कार्ययोजना तय होला,” कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर निर्देशक समिति निकट स्रोतले बाह्रखरीसँग भन्यो ।

कोरोना संक्रमण समूदायमा फैलिएपछि स्थानीय तहले आवागमन रोक्नेदेखि निषेधाज्ञा लगाउनेसम्म निर्णय लिन थालेका छन् । पछिल्लो समय एक नम्बर र दुई नम्बर प्रदेश उच्च जोखिममा रहेका छन् । वीरगञ्ज, विराटनगर महानगरपालिका जोखिम डरलाग्दो देखिएको छ । उपत्यका प्रवेश गर्ने नाकामा गरेको परीक्षण र नतिजाका आधारमा काठमाडौं, ललितपुर, भक्तपुर पनि जोखिममै रहेको विज्ञहरूले औंल्याएका छन् ।

“संक्रमणको अवस्था हेर्दा अहिलेसम्म नियन्त्रणमै छ । कस्तो रणनीति अपनाउँदा यसलाई न्यूनीकरण गर्न सकिन्छ भनेर छलफल गर्न लागेको बुझेका छौं,” स्रोतले भन्यो

Nabintech