५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
फत्तेपुर–बैजापुर सडक निर्माणको कामले गति लियो


बाँकेको फत्तेपुरबाट बैजापुर जोड्ने हुलाकी सडक निर्माण शुरू भएको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडकसँग जोडिने गरी फत्तेपुरको मेहमानपुर चोकबाट बैजापुरको नारायण चोकसम्म २१ किलोमिटर सडक निर्माणको काम धमाधम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख युवराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार, हुलाकी सडक आयोजनाअन्तर्गतको यो सडकखण्ड निर्माणको ठेक्का एपेक्स कन्काई र खड्का कृष्ण जेभी कम्पनीले मूल्य अभिवृद्धि करबाहेक ६० करोड रुपैयाँमा प्राप्त गरेका छन् । ठेक्का सम्झौता भएको मिति २०७६ मङ्सर १ गतेदेखि २०७९ कात्तिक ३० गते ३६ महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ ।
एघार मिटर फराकिलो हुने सडकमा सात मिटर असफार्क कङ्क्रिट पद्दतिबाट कालोपत्र गरिनेछ । सडकको फत्तेपुरबाट बिनौनासम्म पर्ने वनक्षेत्रमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरी सडक विस्तारको काम भइरहेको योजना प्रमुख पोखरेलले बताए ।
‘यो सडकखण्डमा अलिकति वन क्षेत्र पर्ने भएकाले काम शुरु गर्न केही ढिला भएको थियो, वन कार्यालयसँगको अनुमतिमा रुख हटाएर सडक विस्तार गर्ने काम भइरहेको छ,’ उनले भने, ‘अन्यत्र समस्या छैन, निर्धारित समयमै काम सम्पन्न हुनेमा हामी ढुक्क छौँ ।’
पूर्वपश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा दाङको कालकाँटेदेखि बाँकेको कटकुइँया र नेपालगञ्ज जोडिने गरी तीन खण्डमा सडक निर्माणको काम भइरहेको छ । नेपालगञ्ज–बघौडा, फत्तेपुर–बैजापुर र दाङको कालाकाटे राजपुर हुँदै बाँकेको बैजापर जोड्ने गरी हुलाकी सडक निर्माण योजना रहेको पोखरेलको भनाइ छ ।
पहिलो खण्डका रुपमा नेपालगञ्जदेखि बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकाको भारतीय सीमा क्षेत्र कटकुइँयासम्म धमाधम सडक निर्माण भइरहेको छ ।
४४ किलोमिटर लम्बाइको सो सडकखण्डको पहिलो २२ किलोमटिरको ९५ प्रतिशत काम पूरा भएको र दोस्रो २२ किलोमिटरमा ७४ प्रतिशत निर्माण सम्पन्न भइसकेको योजना प्रमुख पोखरेलले जानकारी दिए ।
‘दाङको कालाकाँटेबाट गढवा हुँदै राजपुर सडक निर्माणको काम पनि भइरहेको छ । यसलाई बाँकेको बैजापुरमा जोडेर वैकल्पिक हुलाकी सडक बनाउने योजना रहेको छ,’ योजना प्रमुख पोखरेलले भने, ‘सडक निर्माण प्रक्रियामा कुनै समस्या नदेखिएकाले निर्धारित समयमै यो हुलाकी सडकको काम पूरा हुने विश्वास गरेका छौँ ।’
निर्माणकार्य सम्पन्न भएपछि नेपालगञ्जबाट अधिकांश सवारी साधन यही हुलाकी सडक प्रयोग गर्ने अनुमान गरिएको छ । पूर्वपश्चिम राजमार्गभन्दा यो तुलनात्मकरूपमा धेरै छोटो पर्ने भएकाले यो सडक प्रयोगमा आउने पोखरेलको भनाइ छ ।अहिले पनि बिनौना–बैजापुरका जनता अगैया हुँदै पूर्वपश्चिम राजमार्ग छाडेर निर्माणाधीन बैजापुर–फत्तेपुर सडक हुँदै सदरमुकाम नेपालगञ्ज आवतजावत गर्ने गरेका छन् ।

Nabintech