२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बढ्दै कोभिड-१९ को जोखिम : देशभर ३ सय ८२ सुरक्षाकर्मी संक्रमित

प्रहरीमा मात्रै २०६ जनामा संक्रमण



काठमाडौं/मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड(१९ को जोखिम कायमै छ। आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ। यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने र भीडभाडमा नजाने गर्दा सङ्क्रमणबाट जोगिन सकिन्छ। भीडभाड बढ्दा मानिसले चाहेर पनि भौतिक दूरी कायम गर्न नसक्ने हुँदा अब अझै सावधानी जरुरी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले बताएका छन्।

आमनागरिकसँगै सुरक्षाकर्मीमा देखिएको पछिल्लो सङ्क्रमणले समेत जोखिम बढेको महसुस गर्न सकिन्छ। नेपाल प्रहरीको मुख्यालय प्रहरी प्रधान कार्यालयमा साउन ११ गते चार जनामा कोभिड-१९ देखियो। त्यसपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा मङ्गलबारको परीक्षणमा थप ३१ जनामा कोभिड(१९ पुष्टि भयो। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही पछिल्लो चरणमा प्रहरीमा कोभिड-१९ सङ्क्रमण बढेको बताउँछन्। पहिले पनि सुरक्षा मापदण्ड बनाएर काम गरिएको थियो, हेडक्वार्टरमै सङ्क्रमण देखिएपछि अझै थप सावधानीका साथ खटिन निर्देशन दिएका छौँ, शाहीले भने। मङ्गलबार सशस्त्र प्रहरीमा पनि एकजनामा कोभिड-१९ देखिएको छ।

प्रहरीमा अहिलेसम्म २०६ जनामा सङ्क्रमण भइसकेको छ। अहिलेसम्मको प्राप्त विवरणअनुसार चार सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का कूल ३८२ जनामा सङ्क्रमण देखिइसकेको छ। अझै पनि १४१ जना उपचाररत रहेका छन् तर जटिल खालका बिरामी भने नभएको जनाइएको छ। हालसम्म नेपालमा १९ हजारमा कोभिड(१९ देखिएकामा झण्डै १४ हजार निको भएर घर फर्किसकेका छन्। पाँच हजार उपचारमा छन्। कोरोनाका कारण ४९ जनाको निधन भएको छ।

पहिले कोभिड-१९ को सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश कार्यान्वयन गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा थिए। साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै मानिसको चहलपहल बढ्दा र व्यवसाय सञ्चालन हुँदा पनि अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय नै हो। त्यसकारण सुरक्षाकर्मी थप जोखिम हुने स्वास्थ्य विज्ञको भनाइ छ।

Nabintech