११ माघ २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
भोलिसम्ममा प्रचण्डले ओलीलाई भेटेर बैठकको वातावरण बनाउने


कोहलपुर/नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) छुट्टा-छुट्टै छलफलमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको अनुपस्थितिमा सम्पन्न बैठकले स्थायी कमिटीको अर्को बैठकको मिति तोक्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो ।
४४ सदस्यीय स्थायी कमिटीमा २९ जनाको सहभागीतामा सम्पन्न बैठकको निर्णय अनुसार भोलिसम्ममा प्रचण्डले ओलीलाई भेटेर बैठकको वातावरण बनाउने छन् ।
अध्यक्षद्वयकै उपस्थितिमा बैठक सञ्चालनका लागि तत्काल सहमतिको सम्भावना भने देखिएको छैन । तर, दोस्रो तहका नेताहरु सहमति कायम गर्नका लागि सक्रिय भएकाले नेकपाको विवाद समाधान हुने अपेक्षा स्थायी कमिटीका सदस्यले गरेका छन् ।
नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले बुधबार बिहानदेखि छुट्टाछुट्टै छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग परामर्श गरेका छन् । उनले प्रचण्ड नेपाल पक्षका नेताहरुसँग पनि अनौपचारिक संवाद अगाडि बढाएका छन् ।
ओली निकट नेताहरु महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल विभिन्न नेताहरुसँगको छलफलमा जुटेका छन् ।
त्यस्तै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले पनि विभिन्न पक्षका नेतासँगको संवादलाई तिब्रता दिएका छन् । प्रचण्डले खुमलटारमा अनौपचारिक छलफल गरेका छन् । उनले ओली निकट नेताहरुसँग पनि छलफल गरेका स्रोतले जनाएको छ ।
वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले पनि पार्टी विभाजन नहुँने तरिकाले निकास निकाल्ने भन्दै छलफललाई तिब्रता दिएका छन् ।

Nabintech