१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाढीपहिरोले अवरुद्ध सडक अझै सुचारु भएनन्


कोहलपुर/बाढी र पहिरोले देशभरका २९ सडक अवरुद्ध भएका छन्। तीन साता वितिसक्दा पनि सडक सुचारु हुन सकेका छैनन्। सडक विभागका अनुसार मनसुनयता आएको बाढी र पहिरोले देशभर एक सय १४ स्थानमा सडक अवरुद्ध भएको थियो। त्यसमध्ये पहिरो पन्छाएर ५१ स्थानमा पूर्ण रुपमा खुलेको छ भने २४ स्थानमा आंशिक रुपमा खुलेको छ । वर्षा भइरहेकाले अझै २९ स्थानमा सडक खुल्न नसकेको विभागले जनाएको छ।

पहिरो खस्ने क्रम नरोकिएको र पुल नै बगाएकाले सडक सञ्चालन हुन नसकेको सडक विभागका प्रवक्ता शिवहरी सापकोटाले बताए। जसले गर्दा केही सडकहरु तीन सातासम्म पनि खुलाउन नसकिएको उनको भनाइ छ। ‘अरनिको राजमार्गअन्तर्गत ६ स्थानमा सडक अवरुद्ध छ। तीन सातासम्म पनि खुलाउन सकिएको छैन,’ उनले भने।

अरनीको राजमार्गमा असार २४ गतेको भारी वर्षाले आएको बाढी र पहिरोले क्षति पुगेको थियो। केही ठाउँमा पहिरोले भत्किएको छ भने केही ठाउँमा बाढीले सडक नै बगाएको सापकोटाले बताए। अरनिको राजमार्गमा सिरिशे, जम्बु, झ्यालेको दुई ठाउँमा र डांकलांगका दुई ठाउँमा क्षति पुगेको छ।

वर्षाका कारण पहिरो हटाउन कठिन भएको उनले बताए। केही स्थानमा पहिरो हटाए पनि फेरि खसेको विभागले जनाएको छ।

त्यस्तै, बाजुराको साँफेबगर–मार्तडी सडकअन्तर्गत अम्कोट–द्वारी खण्ड, बेनी जोमसोम–कोरोला सडकअन्तर्गत म्याग्दीको दाना, गलेस्वरमा सडक अवरुद्ध भएको छ। असार ७ गते आएको पहिरो र बाढीले क्षति पुगेको छ।

यस्तै, कान्तिलोक पथ अन्तर्गत घट्टे पख, बाघ धारा, शिलालेख, छपेलीमा सडक अवरुद्ध छ। यि ठाउँमा पटकपटक अववरुद्ध भएको विभागले जनाएको छ।

बेसीशहर–चामे सडकअन्तर्गत साताघोप्टे भीर, रामबजार, च्याम्चेमा बाढि र पहिरो सडक अवरुद्ध भएको छ। बेनी जोमसोम–कोरोला सडकअन्तर्गत म्याग्दीको काभ्रेभीर, घोप्टेभीरमा पहिरो गएको छ भने पुल पनि बगाएको छ। यस्तै, साँफेबगर–मार्तडी सडकखण्डअन्तर्गत बल्दे, अम्कोट, ताप्रीसेरा, घट्टेखोलामा १५ दिनदेखि सकड अवरुद्ध छ। अन्य सडकमा पनि पहिरोले आवतजावत ठप्प भएको छ।

केही ठाउँमा पुल निर्माण गर्नुपर्ने र केही ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले सडक सुचार गर्न समय लाग्ने प्रवक्ता सापकोटाले बताए। कोरोनाका कारण पनि ठूलो समूहमा काम गर्न निमल्ने भएकाले अवरोध हटाउन समय लागेको उनको भनाइ छ।

Nabintech