९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेको खजुरा औद्योगिक ग्रामको डीपीआर तयार


नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा निर्माण गर्न लागिएको खजुरा औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ ।

सो डीपीआरका अनुसार करिब चालिस करोडको लागतमा २१ बिघा क्षेत्रफलको औद्योगिक ग्रामभित्र विभिन्न भौतिक पूर्वाधार तयार पारिने डीपीआर तयार पार्ने एरिकम इन्जिनियरिङ सर्भिस ललितपुरले जनाएको छ । सर्भिसका प्रबन्ध निर्देशक मन्दिपकुमार ठाकुरले डीपीआर तयार गरेर खजुरा गाउँपालिकामा विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गरिएको बताए । उनले सो औद्योगिक ग्रामभित्र पहिलो चरणमा प्रशासनिक भवन, हेल्थ पोस्ट, गार्ड रुम, पार्क, बाटो, खानेपानी, विद्युतीकरण लगायतका काम गरिने बताए ।

गाउँपालिकाका सरोकारवालासँग छलफल गरेर सुझाव सङ्कलन गरिसकिएकाले छिट्टै डीपीआरलाई अन्तिम रूप दिएर गाउँपालिकालाई बुझाइने प्रबन्ध निर्देशक ठाकुरले बताए ।
सरकारले देशभरिका सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने कार्यक्रमअन्तर्गत बाँकेको खजुरा गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेको थियो ।

स्थानीय सीप, कच्चा पदार्थको प्रयोग गरी सञ्चालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रिपरिषद्को बैठकले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेअनुसार बाँकेको खजुरा गाउँपालिका सरकारको सूचीमा परेको थियोे ।

सरकारको सो निर्णयलगत्तै खजुरा गाउँपालिकाले वडा नम्बर ६ पुरनैनामा औद्योगिक ग्राम निर्माणका लागि २१ बिघा जग्गा व्यवस्थापन गरिएको सो जग्गालाई तारबार गर्ने तथा चौकीदार बस्ने घर बनाउने काम अहिले तीव्र गतिमा भइरहेको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

Nabintech