काठमाडौं /नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको बैठक अध्यक्षद्वयबीच छलफल जारी रहेकाले आउँदो २४ गतेसम्मका लागि स्थगित गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफललाई निरन्तरता दिने सहमति अनुसार नै फेरि पनि बैठक स्थगित भएको हो । अध्यक्षद्वयबीच अहिले बालुवाटारमा छलफल जारी छ । छलफलमा महासचिव पौडेल पनि सहभागी छन् ।
बिहीबार बसेको बैठक सहमतिका लागि भन्दै शनिबारसम्म सहमतिका लागि स्थगित गरिएको थियो । शनिबार बिहान फेरि स्थायी कमिटी बैठक दोस्रो पटक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । अब भने बैठक २४ गतेमात्र बस्ने भएको छ ।
अनौपचारिकरुपमा बनाइएको कार्यदलले मंसिर ४ गतेको सहमतिका आधारमा छलफललाई तिब्रता दिएको छ । छलफलमा विभिन्न विकल्पहरुमा संवाद भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।
अनौपचारिक रुपमा गठन गरिएको कार्यदलमा ओलीको तर्फबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।