१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा रगतको अभाव टर्यो


कोहलपुर/ बाँके जिल्लामा केही समयअघि भएको रगत अभाव अहिले टरेको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँकेको आह्वामा रक्तदाता स्वयम्सेवकको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सो समस्या समाधान भएको छ । ‘हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको संख्या बढेको हो र अहिले अभाव पनि टरेको छ’, रेडक्रस बाँकेका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले भने ।

उनका अनुसार केन्द्रले संकलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयम्सेवकको छ । रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्र र कोहलपुर रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने बिरामीका लागि दैनिक सरदर ८० पिन्ट रगत उपलव्ध गराउँदै आएको छ । अस्पतालमा बिरामीको चाप अत्यधिक कम भएका कारण रगतको माग पनि घटेको रेग्मीले बताए ।

यसैगरी रगतका अभावमा कुनै बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवक अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियान पनि सञ्चालन गर्दै आएको छ । जिल्लामा रक्त सङ्कलनमा बढोत्तरीपछि रगत अभावमा बिरामीका आफन्त भौँतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको समेत अन्त्य भएको जनाइएको छ । स्वयम्सेवक रक्तदाताका अलावा जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेशागत संघसंगठनले समयसमयमा गर्ने रक्तदानले रक्ताभाव हुन नदिन ठूलो सहयोग पुर्‍याएको छ ।

रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम रहेकाले उनीहरुको सहभागिता बढाउने प्रयास पनि केन्द्रले थालनी गरेको छ । रेडक्रस बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झनाका अनुसार केन्द्रद्वारा सङ्कलित रगतमध्ये सबैभन्दा बढी रगत गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुनेमा प्रयोग हुने गरेको छ ।

यसैबीच बाँके रेडक्रसले जिल्लाका विभिन्न क्वारेन्टिनमा रहेका व्यक्तिका लागि जिल्ला विपत् व्वस्थापन समिति मार्फत विभिन्न सामग्री सहयोग गरेको छ । अध्यक्ष सम्झनाका अनुसार क्वारेन्टिनमा बसेकाहरुका लागि कम्बल, त्रिपाल, झुल, सेनेटाइजर, साबुनलगायत सामग्री उपलब्ध गराइएको छ ।

Nabintech