८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
‘आमा’ नामजस्तै वजनदार फिल्म


कथित स्टार, आइटमसहित केही गीत र खर्चिलो क्लाइमेक्सले भरिएको फिल्म सुन र दर्शक कन्फ्युज गर्ने द्वैधअर्थी संवाद सुगन्ध मान्ने थुप्रै फिल्मकर्मी छन् नेपाली चलचित्र क्षेत्रमा । ती सबैका लागि गतिलो झापड हो– फिल्म ‘आमा’ ।

‘पशुपति प्रसाद’ जस्तो उत्कृष्ट फिल्म दिएका दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्मप्रति दर्शकको हाई एक्स्पेक्टेसन हुनु स्वाभाविक पनि हो । ‘आमा’ सो अपेक्षाभन्दा माथि छ भन्दा कसैको दुई मत नहोला ।

निजी अस्पतालमा उपचारको बहानामा घुमाएर लुट्ने प्रवृत्ति, बिरामीको आफन्तको बाध्यता र समाजबाट लोप हुँदै गएको मानवता जस्तो तीतो यथार्थ फिल्मले केलाउने प्रयास गरेको छ ।

परम्परागत फिल्म निर्माण शैलीलाई पूर्ण नकारेको छ फिल्मले । आइटमसहित तीन, चारवटा गीत, सबैभन्दा बलियो हिरो र उसलाई टर्चर दिने गुन्डा र प्रेममा परेका नायक नायिकाको उत्कृष्ट लोकेसनको रोमान्समा रमाउने दर्शकको अपेक्षा फिल्मले पूरा गर्न नसक्ला तर यस्ता दर्शकलाई पनि पूरै समय बाँधेर राख्ने क्षमतासहित आएको छ ‘आमा’ ।

फरक परिवेश र एउटा अस्पताल बेसमा रहेका तीन फरक आमा । एक आमा (मिथिला शर्मा) जो पति बचाउन सङ्घर्षशील छिन् । जसको छोरालाई पुख्र्यौली सम्पत्तिसमेत दाउमा राखेर ग्रिनकार्डका लागि अमेरिकामा सङ्घर्षरत छ । अर्की आमा (सरिता गिरी) जसको छोरा जन्मँदै रोगले थलिएको छ । उसलाई छाती टाँसेर माया गर्ने अपेक्षासहित उनी दिनरात अस्पतामा सास्ती खेपिरहेकी छन् । तेस्री आमा आरती (सुरक्षा पन्त) जो छोरी हुनुको कर्तव्य पूरा गर्दै सामाजिक दबाबबाट बच्न टेस्ट ट्युब बेबी भए पनि जन्माएर आमा लागिपरेकी छिन् । फिल्म यी तीन पात्र वरिपरि घुमेको छ । एकसाथ उठाएका तीन फरक पात्रलाई सफल अवतरण गर्न सक्षम छन् निर्देशक खनाल । यो उनको लेखन क्षमताका कारण पनि सम्भव भएको होला ।

प्रचारको समय फिल्म आमाको कथामा भनिएको थियो । नाम पनि ‘आमा’ भएकाले आमाकै कथामा फिल्म बन्यो होला भन्ने अनुमान पनि गर्न सकिन्छ । तर होइन, तीन आमालाई प्रतिनिधि पात्रको रूपमा प्रस्तुत गरेर फिल्ममा आम मानिसले दैनिक जीवनमा गर्दै आएको सङ्घर्ष र भोगेको पीडा उजागर गरिएको छ ।

फिल्मको कथा मुख्य पात्र आरती (सुरक्षा पन्त)को बुबा (देशभक्त खनाल)बाट सुरु हुन्छ । जो भर्याङबाट लडेको कारण उपचारका लागि गाउँबाट उनकी आमा (मिथिला शर्मा)ले काठमाडौँ ल्याएकी छिन् । उनको उपचारका लागि सुरुमा सरकारी अस्पताल पुर्याइन्छ तर सरकारी अस्पतालमा हुने विभिन्न बाहनाको आन्दोलनका कारण उनीहरु निजी अस्पतालमा जान बाध्य हुन्छन् ।

अस्पतालको उपचारमा आराती, आमा मिथिला र ज्वाइँ (मनिष निरौला) खटिएका छन् । आफूसँग भएको र विदेशबाट छोराले पठाएको पैसा सकिँदा र अस्पतालमा धेरै तिर्न बाँकी हुँदासमेत बिमार निको हुन्न ।

एक स्कुलकी शिक्षिका समेत रहेकी आरतीले आफ्नो पतिको घर दोस्रो प्रथामिकतामा राखेर जन्मदिने आमाबुबाका लागि गरेको सङ्घर्ष, प्राइभेट नोकरी समेत दाउमा राखेर श्रीमती आरतीलाई सघाउने ज्वाइँ र आफ्नो सिन्दुर पुछिनै लाग्दा पनि छोराप्रति आमाले देखाएको ममता यी नै विषयमा केन्द्रित छ फिल्म ।

ग्रिनकार्डका लागि पुख्र्यौली सम्पत्तिसमेत धितोमा राखेर विदेशमा सङ्घर्षरत आरतीका दाजु बुबालाई भेट्न फर्किन्छन्, फर्किंदैनन्, आरितीले सङ्घर्ष गरेर बुबालाई बचाउन सक्छिन् वा सक्दिनन् र सबै सम्पत्ति सकिँदा पनि निको नभएको आरतीको बुबाको अवस्था के हुन्छ ? कथाको ट्विस्ट नै यही हो । यो सबै थाहा पाउन फिल्म ‘आमा’नै हेर्नुपर्ने हुन्छ । फिल्ममा केही यस्ता परिस्थिति आइपर्छन् । जसमा अभिनय गर्ने कलाकारको आँसु पछि झर्ला, त्यो भन्दा पहिले दर्शकको आँखा रसाउने छन् ।

लेखन, निर्देशन र छायाङ्कनसमेत आफैले गरेका निर्देशक दीपेन्द्रले फिल्म व्यापार मात्रै होइन, यो कला भएको कामले बुझाएका छन् नै । एउटा निर्देशकले समाजप्रति निर्र्वाह गर्नुपर्ने जिम्मेवारीमा पनि उनी इमानदार देखिएका छन् ।

स्टारको पछि लाग्ने फिल्मकर्मीको भीडमा स्टार जन्माउने कोसिस गर्ने दीपेन्द्रले फिल्मको कथा अनुसार चरित्रलाई स्टारझैँ चम्काएका छन् । कलाकारको त्यही अनुसारको छनौटको तारिफ गर्नैपर्छ । फिल्मको बलियो पक्ष यसको पटकथा हो ।

फिल्ममा अभिनेत्री सुरक्षाले अपेक्षित अभिनय देखाएकी छन् । यस अगाडिको फिल्ममा सामान्य अभिनयमा देखिएकी सुरक्षाको अभिनयलाई तारिफ नगरि रहन सकिन्न । तर आगामी दिनमा उनका लागि भने पक्कै पनि सहज हुनेछैन । उनले फिल्म अभिनयका लागि आफ्नो कपालको त्याग गर्नुले उनको फिल्मप्रतिको लगाव, उज्ज्वल भविष्यको सङ्केत पनि हुनसक्छ । उनी महिला कलाकार हुन् । तर फिल्मको हिरोको रूपमा प्रस्तुत भएकी छन् ।

सुरक्षाका श्रीमान्को भूमिकामा रहेका मनिष निरौलाले चरित्रमा न्याय गरेका छन् ।

आमा बनेकी मिथिला शर्माको अभिनयमा खोट लगाउने ठाउँ पाउन मुस्किल पर्ला । उनले फिल्म प्रचारको समय भने झैँ उनको परिचय आमा बन्नेका कुनै शङ्का गर्ने ठाउँ छैन । उनी इमानदर पत्नी र समाजसेवीका रूपमा देखिएकी छन् । भ्यान्टिलेटरका बिरामी देशभक्त खनाल बिनाहलचल, बिनासंवाद आँखाको माध्यमबाट दर्शकलाई आफ्ना धेरै कुरा बुझाउन सफल छन् ।

मुख्य पात्रभन्दा केही छोटो भूमिकामा देखिएकी कलाकार सरिता गिरीको अभिनयले पनि दर्शकको मन छुन्छ । आमा बन्ने सौभाग्य पाएर पनि छोरालाई अँगालोमा बाँध्न नपाएर टाढैबाट टुलुटुल हेर्नुपर्ने बाध्यता, सबै भएर पनि एक्लो हुनुपर्दाको अवस्था जुन तरिकाले पर्दामा देखाउने प्रयास भएको यसले प्रेम गर्नेहरुका लागि एक पटक सोच्न बाध्य बनाउँछ ।

आशान्त शर्मा, सरोज आचार्य, अस्मिता खनालजस्ता केही सहायक कलाकारले चरित्र अनुसार अभिनय पस्किएका छन् ।

थोरै कलाकार र सीमित लोकेसनमा फिल्म सकाउने निर्देशक दीपेन्द्रको पुरानै शैली हो । ‘पशुपति प्रसाद’ पछि केही फिल्ममा भड्किएका उनी ‘आमा’मा भने पुरानै लयमा फर्किएका छन् । फिल्ममा केही कमीकमजोरी भने नभएको होइन । तर पनि ‘आमा’बाट उनको निर्देशन अझ खारिएको प्रष्ट हुन्छ ।

छायाङ्कन समयमा उनले पानी कुरेको समाचार धेरैका लागि कुरो काट्ने विषय बनेको थियो । तर नक्कली र सक्कली वर्षाको दृश्य गुणस्तर र त्यसको प्रभाव के भन्ने फिल्मले प्रस्ट पर्छ ।

फिल्ममा एक गीत छ । त्यो फिल्मको उपयुक्त ठाउँमा र फिल्मका लागि पर्याप्त छ । एक्सनका दृश्य एउटा पनि छैन । तर पात्रले फिल्मभित्र सामना गर्नुपर्ने ठूला ठूला द्वन्द्व छन् ।

पहिलो हाफ अलि स्लो छ । ग्रिनकार्डका लागि अमेरिका पुगेको छोराको बुबाको अन्तिम संस्कारमा आउन नपाउँदाको पीडा र बाध्यता टेलिफोन संवादमार्फत भन्दा पात्रको अभिनयबाटै पोखिएको भए फिल्म वजनदार हुनसक्थ्यो कि । यसतर्फ भने निर्देशकको ध्यान नपुगेकै हो ।

अन्तरजातीय प्रेम विवाह, युवा विदेशिनुपर्ने बाध्यता, स्वास्थ्य क्षेत्रमा हुने ठगी, डाक्टर र नर्स पेसामा हराउँदै गएको मानवता, आमा बन्न नसक्दा एउटा नारीले परिवारबाट पाउने टर्चर र उनको मनोदशा, धार्मिक अन्धभक्तता र त्यसको प्रचारक प्रवृत्तिमा निर्देशकले राम्रो ध्यान पुर्याएका छन् ।

फिल्म मनोरञ्जनकै लागि हेरिने हो । आमाले मनोरञ्जन मात्र दिँदैन । आम मानिसलाई आफ्नो वास्तविकता र भोगाइसँग नजिकसमेत गराउँछ । ‘आमा’ उत्कृष्ट फिल्म हो भनेर भन्न मिल्ला नमिल्ला । किनकि उत्कृष्टता आफैमा सापेक्ष विषय हो । सबैले हेर्नुपर्ने र छुटाउन नहुने फिल्म चाहिँ हो ।

फिल्मः आमा

लेखन, निर्देशन र छायाँकनः दीपेन्द्र के. खनाल

निर्माताः सर्मिला पाण्डे

कलाकारहरु : मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला लगायत

Nabintech