९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अविष्मरणीय नेता मनमोहन अधिकारी


कोत पर्वपछि स्थापाना भएको राणा शासन १०४ वर्षसम्म निरंकुश रूपमा चल्यो । त्यसबेला नागरिकलाई कुनै पनि स्वतन्त्रता थिएन । राजनीतिक, शैक्षिक लगायतका क्षेत्रमा पूर्ण बन्देज थियो । शिक्षाको महत्त्व बुझेका परिवारका सदस्य शिक्षा आर्जन गर्न भार तिर जाने गर्थे । भारतीय जनताले अंग्रेज शासन विरुद्ध स्वतन्त्रताका लागि गरेको आन्दोलनको प्रभाव त्यहाँ अध्ययनरत नेपाली युवामा पनि पर्‍यो । त्यसैमध्येका एक हुनुहुन्थ्यो मनमोहन अधिकारी । फल स्वरूप वि.सं. १९९९को ‘भारत छोड’ आन्दोलनमा भाग लिएकै कारण उहाँ पहिलोपल्ट अंग्रेजद्वारा पक्राउ परी भारतीय जेलमा पर्नुभयो । जेलमा भारतीय कम्युनिस्ट नेताहरूसँगको सम्पर्कका कारण उहाँ कम्युनिस्ट विचारधारासँग आवद्ध हुनुभयो । डेढवर्ष बसी मुक्तिपश्चात् पाँच वर्षजति भारतकै विभिन्न क्षेत्रमा रही काम गर्नुभयो । अनि नेपालमै आन्दोलनको अगुवाइ गर्ने लक्ष्य बोकेर विराटनगर कटन मिल्समा केमिस्टको नोकरी गर्न थाल्नुभयो । भारतीय स्तवतन्त्रता संग्रामबाट आफ्नो राजनीतिक जीवनको आरम्भ गर्नु भएका मनमोहनले २००३ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनको ऐतिहासिक नेतृत्व सम्हाल्नुभयो । मजदुर आन्दोलनकै सिलसिलमा मनमोहन तीन वर्ष जेल पर्नुभयो ।

२००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । त्यसबेला मनमोहन जेलमा हुनुहुन्थ्यो । जेलबाट रिहाई भएलगत्तै नेकपाका संस्थापक नेता पुष्पलाल उहाँलाई भेट्न रक्सौल आउनुभयो । त्यहाँ भएको सौहार्दपूर्ण भेटघाट र छलफलपछि नेकपासँग अटूटसम्बन्ध र नेतृत्वदायी भूमिका रह्यो । २००७ सालको राणा विरोधी संघर्षका क्रममा उहाँलाई भारतीय समाजवादी पार्टीका मुक्ति सेनाका जवानहरूले पक्राउ गरी १२ दिनसम्म हिरासतमा राखेका थिए । २००८ मा कलकत्तामा सम्पन्न भएको पार्टीको पहिलो सम्मेलनबाट पोलिटब्युरो सदस्य हुनुभएका उहाँ वि.सं.२०१० सालमा भएको प्रथम महाधिवेशनबाट महासचिवमा निर्वाचित गरियो । यही बेला मनमोहन उपचार गर्न चीन जानुपर्ने भएपछि केशरजंग रायमाझीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिनुभयो । त्यतिबेला नेपालमा राजनीतिक रूपले धेरै उतारचढाव आयो त्यसलाई बुझ्न नेतृत्वले सकेन । जसका कारण कम्युनिस्ट पार्टीमा थुप्रै मतभेदहरू देखिए ।

०१७ साल पौष १ गतेको काण्डमा मनमोहन अधिकारी विराटनगरबाट गिरफ्तार भई ०२५ को अन्त्यतिर छुट्नु भयो । जेलबाट छुट्दा दिएको वक्तव्यलाई लिएर कतिले मनमोहन अधिकारीलाई ‘राजावादी’ भएको आरोप पछिसम्म लगाइरहे । यद्यपि उहाँले राजा र पञ्चायतसामु कहिल्यै पनि नझुकेर आफूमाथि लागेको आरोपलाई गलत सावित गरिदिनुभयो । कम्युनिस्ट पार्टीमा आएको विभाजनले उहाँ चिन्तित हुनुहुन्थ्यो त्यसैले विभाजन विरूद्ध एकताको प्रयासलाई अगाडि बढाउने उद्देश्यले मनमोहन सहित ३ जनाको केन्द्रीय न्युक्लियसको गठन भयो । यसले एकताको प्रयासलाई बढाउन नपाउँदै न्युक्लियसभित्रै विभाजन सुरु भयो । कम्युनिस्ट पार्टीमा एकपछि अर्को विभाजन बढ्दै गएपछि उहाँ ज्यादै चिन्तित बन्नुभयो । त्यसपछि केही समय चुपचाप रहनु नै उपयुक्त हुने ठान्नुभयो । ०२८ सालमा पूर्वकोसी प्रान्तीय कार्यकर्ताविहीन नेताका रूपमा रहनुभएका मनमोहनले ०३६ सालमा नेकपा (मनमोहन) नामको छुट्टै पार्टी खोलीे महासचिव हुनुभयो । वि.सं.०३६ जेष्ठ १० गते जनमत संग्रहको घोषणा भयो । मनमोहन अधिकारीले जनमत संग्रहलाई निष्पक्ष र धाँधालीरहित बनाउन पाँच पूर्वसर्त प्रस्तुत गर्नुभयो । आफू पनि बहुदलका पक्षमा लागेर हिँड्नुभयो । त्यसक्रममा पञ्चायत समर्थक गुन्डाहरूले ठाउँठाउँमा उहाँलाई अपमानित गरेका थिए । तर, पनि ६० वटा जिल्लामा बहुदल पक्षलाई भोट माग्दै गाउँगाउँमा आफ्ना विचार राख्न सफल हुनुभयो ।

जनमत संग्रहमा पञ्चायतको विजय भएको घोषणा गरेलगतै प्रमाणसहित जनमतसंग्रह निष्पक्ष नभएको भन्दै त्यसको विरोध एवं भर्सना गर्नुभयो । त्यसपछि पञ्चायती शासकहरूको दमन तीव्र भयो । त्यतिबेला सानो पार्टीको नेतृत्व गरे पनि उहाँ सबैखाले दमन र अत्याचारका विरुद्ध उभिनुभयो र पञ्चायत विरोधी संर्घषमा ऐक्यबद्धता जाहेर गरिरहनुभयो ।

वि.सं.०४६ मा भएको जनआन्दोलनको पहिलो दिनमा नै पक्राउ परी आन्दोलन सफल भएपछि चैत्र २६ गते रातिमात्र छोडिएको थियो । समयको माग र अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा गुट र उपगुटमा विभाजित कम्युनिस्ट पार्टीका नेताहरूले आपसी एकताको लागि प्रयासहरू गर्न थाले । एउटै कम्युनिस्ट पार्टी बनेमा शक्तिशाली हुने र देशमा राजनीतिक स्थिरता आउने भएकोले ०४६ को सफल जनआन्दोलनपश्चात् ०४६ पौष २२ गते अधिकारीले नेतृत्व गर्नु भएको नेकपा(माक्र्सवादी) र मदन भण्डारीले नेतृत्व गर्नुभएको नेकपा (माले) एकीकृत भई नेकपा(एमाले) गठन भयो । एकतापछि बनेको पार्टीको अध्यक्ष पदमा उहाँ नै सर्वसम्मतले छानिनुभयो । त्यसैगरी ०४९ मा भएको नेकपा (एमाले) को पाँचौँ महाधिवेशनमा पुनः अध्यक्ष पदमा नै चयन हुनुभयो । प्रजातन्त्रको पुनःस्थानापश्चात् २०५ सिटका लागि भएको आम निर्वाचनमा एमाले पार्टीले ६९ सिटमा विजय हासिल गरी उहाँलाई संसमा प्रतिपक्षी दलको नेतामा चयन गर्‍यो ।

०५१ मा भएको मध्यावधि निर्वाचन २०५ मध्ये ८९ सिट ल्याई एमाले संसमा सबैभन्दा ठूलो दलका रूपमा स्थापित हुन पुग्यो । ठूलो पार्टीको हैसियतले एमालेले अल्पमतको सरकार गठन गर्‍यो । मनमोहन अधिकारीले इतिहासको पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभयो । नौ महिनामात्र शासन गर्न पाएको मनमोहन नेतृत्वको सरकारले नेपालको इतिहासमै सबैभन्दा जनपक्षीय र लोकप्रिय सरकारका रूपमा आफूलाई स्थापित गर्न सक्यो । २००३ सालदेखिको अनवरत राजनीतिक संघर्ष र जनतामा देखाएको त्याग नै मनमोहन अधिकारीको सरकारको आधार थियो । मनमोहन जति दिन सत्तामा रहनुभयो जनताकै पक्षमा काम गरेर बस्नुभयो । त्यसैले त उहाँ बालक, युवा, वृद्ध सबैका आशाका धरोहर बन्न पुग्नुभयो । जनतालाई राहत दिने गरी काम गरेको देख्न नसक्ने देशी विदेशी शक्तिले अल्पमतको सरकारबाट हटाए पनि जनताले मनमोहनले बहुमतको सरकार चलाएको हेर्न चाहिरहेका थिए ।

०५६ सालमा हुन लागेको आमनिर्वाचनमा पार्टीले ‘आगामी सरकार एमालेको अल्पमतको होइन बहुतमतको’ भन्ने नारालाई अगाडि सारेपछि त्यो नारालाई सार्थकता प्रदान गर्न उहाँ अझ बढी जोस र जाँगरका साथ पार्टी काममा संलग्न हुन थाल्नुभएको थियो । चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउँछ भन्ने प्रबल विश्वास उहाँमा थियो र त्यही आत्मविश्वासले मेचीदेखि महाकालीसम्मका भू–भागहरूमा सक्रियतापूर्वक सहभागी हुनुभएको थियो । चुनावी कार्यक्रमको सन्दर्भमा वैशाख ६ गते काठमाडौं जिल्ला अन्तर्गत क्षेत्र नं. १ गोठाटारको चुनावी सभालाई सम्बोधन गरी निवास फर्कने क्रममा एक्कासि अस्वस्थ हुनुभयो । त्यसलगतै शिक्षण अस्पतालमा पुर्‍याई ७ दिनसम्म उपचारमा सम्भव भएसम्मका उपायहरू अप्नाउँदा पनि उहाँलाई बचाउन सकिएन । राष्ट्र र जनताका लागि लड्दालड्दै, निमुखा जनताका खातिर एमालेको बहुमतको सरकार बनाउने संकल्पमा जुट्दाजुट्दै ०५६ वैशाख १३ गते उहाँले यस धर्तीबाट सदाका लागि बिदा लिनुभयो ।

मनमोहन पार्टीको नेता होइन सिंगो मुलुकको अभिभावक हुनुभएको थियो । त्यो मनमोहनको मायाले गर्दा होइन जनभावना अनुसारको काम गर्नुभएका कारण थियो । मनमोहनपछि पनि एमालेले दुईदुईपटक सरकारको नेतृत्व गर्ने मौका पायो तर किन जनताले त्यस किसिमको अनुभूति गर्न पाएनन् ? मनमोहनले नौ महिने शासन गरेर एमाले पार्टीको छवि उचो पार्नुभएको थियो । त्यसैलाई देखाएर राजनीति गर्न सजिलो भएकै कारण आजसम्म उहाँको नाम लिइँदै छ । उहाँले हामीबाट बिदा लिनुभएको पनि आज २१ वर्ष भएको छ । यही २१ औँ स्मृति दिवसका अवसरमा आदरयणीय कमरेड मनमोहन अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली ।

Nabintech