१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जानकीमा एकद्वार प्रणालीबाट राहत वितरण


जानकी/ बाँकेको जानकी गाउँपालिकाका सबै वडामा लकडाउनबाट प्रभावित नागरिकलाई एकद्वार प्रणालीबाट राहत वितरण कार्य भईरहेको छ ।कोरोना भाइरस सङ्क्रमण रोकथामको लागि जारी लकडाउनले प्रभावित विपन्न जनतालाई गाउँपालिकाले एकद्वार प्रणालीका आधारमा वडाकार्यालय मार्फत राहत वितरण गरिरहेको छ ।

वडा नं. १ साईगाउँले मङ्गलवारदेखि शुरु गरेको राहत वितरण कार्य आज सकिने वडाध्यक्ष मोहम्द रजा राईले जानकारी दिनुभयो । मङ्गलवार साईगाउँ, पचपोखरा र जोगागाउँमा वितरण गरेको वडा नं। १ ले आज विहान बढैया गाउँमा वितरण गरेको छ । साँझ शिवपुरीमा वितरण गरी पहिलो चरणको राहत वितरण कार्य सम्पन्न हुने वडाध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार वडा नं। १ का ३ सय ३४ विपन्न परिवारलाई राहत वितरण गरिदैछ । करिव दुई सय परिवार अझै छुट भएकोले राहतको लागि गाउँपालिकासँग पहल भईरहेको छ ।

वडा नं. २ बेलभारमा राहात वितरणको लागि आवश्यक तयारी भईरहेकोले आज साँझबाट वितरण कार्य शुरु गरिने वडाध्यक्ष चन्द्रिका गुप्ताले जानकारी दिनुभयो । वडा नं. ३ इन्द्रपुरमा आज विहानदेखि राहत वितरण कार्य भईरहेको छ । आज पहिलो दिन मोतिपुर र रम्वापुरका जनतालाई लक्षित गरी रम्वापुरबाट वितरण कार्य भईरहेको वडाध्यक्ष बिन्देश्वरी बर्माले जानकारी दिनुभयो ।

वडा नं. ४ खजुराखुद्र्धमा मङ्गलवारनै राहत वितरण कार्य सम्पन्न भएको वडाध्यक्ष विश्रामकुमार बर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, वडा नं। ४ मा ४ सय तीन विपन्न घरपरिवारलाई राहत वितरण गरिएको छ ।

वडा नं. ५ बेलहरीमा अधिकांश गाउँमा राहत वितरण भईसकेको वडाध्यक्ष रमेश बर्माले जानकारी दिनुभयो । आज साँझसम्म विपन्न सबै ४ सय २० घरपरिवारलाईनै राहत सामग्री वितरण गरिसकिने उहाँको भनाई छ ।

वडा नं. ६ गनापुरमा मङ्गलवारनै राहत सामग्री वितरण भईसकेको छ । लिन नआएका २० जनाको मात्रै वितरण गर्न बाँकी रहेको वडाध्यक्ष सुरेश यादवले बताउनुभयो । वडा नं। ६ गनापुरमा ३ सय ३६ घरपरिवारको लागि राहत सामग्री उपलब्ध भएको छ । थप केही घरपरिवार छुटेकोले राहतको लागि गाउँपालिकालाई अनुरोध गरेको वडाध्यक्ष यादवले जानकारी दिनुभयो । लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी कामगरी खाने श्रमिक र विपन्न समुदायका नागरिकलाई भोकै हुन नदिन वडाबाट सङ्कलन भईआएका तथ्याङ्कका आधारमा वास्तविक प्रभावितहरुलाई विवादरहित तरिकाले सम्बन्धित वडा कार्यालयहरुबाटै राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले विवादरहित तरिकाले वास्तविक प्रभावितलाई राहत वितरण गर्नको लागि अभिलेख सङ्कलन गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले कोरोना नियन्त्रण तथा राहत बितरण कार्यविधि–२०७६ को मापदण्ड अनुसार प्रत्येक वडापालिकाले आ–आफ्ना वडामा रहेका ज्यालादारी मजदुरी गर्ने तथा बिपन्न गरिव परिवारको अभिलेखका आधारमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि समेतको रोहवरमा वडा कार्यालयबाट राहत वितरण गर्ने कार्य भईरहेको जानकारी दिनुभयो ।

गाउँपालिकाका तीन हजार १२ घरधुरीलाई अत्यावश्यकीय खाद्य सामाग्री वितरण कार्य भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनु भयो । राहत प्याकेजमा ५ जना परिवार सदस्य सङ्ख्या रहेकोलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ किलो नुन र एक प्याकेट सोयाबिन दिईने छ ।

पाँच जनाभन्दा बढी परिवार सदस्य सङ्ख्या रहेको परिवारलाई २५ किलो चामल, ३ किलो दाल, १ लिटर खानेतेल, १ किलो नुन र एक प्याकेट सोयाबिनका दरले बितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताउनु भयो ।

Nabintech