६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्तीसोनारीमा राहत वितरण, पीडित परिवारलाई घरमै पुर्याउने ब्यवस्था


अगैया(बाँके)/  राप्तीसोनारी गाउँपालिकाले दैनिक ज्याला मजदुरी गर्ने परिवारका लागि शनिबारबाट राहत वितरण सुरु गरेको छ । गाउँपालिकाले वडा नम्बर २ अगैयाबाट राहत वितरण सुरु गरेको हो । यसका लागि गाउँपालिकाले वडा नम्बर ९ वटै वडाबाट करिव ४ हजार परिवारको तथ्यांक संकलन गरेको थियो । ती परिवारलाई प्याकेजसहित राहत वितरणको काम सुरु गरिएको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो । ‘दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई प्याकेजसहित राहत वितरण सुरु गरेका छौं,’ उहाँले भन्नुभयो ‘हामीलाई वडाबाट चार हजार बराबर सम्भावित तथ्यांक आएको छ, सोही तथ्यांक अनुसार अब प्रत्येक वडाले राहत वितरण गर्नेछन् ।’

प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार दैनिक ज्याला मजदुरी गर्ने परिवारले खान नपाएको भनि वडाका जनप्रतिनिधीलाई फोन गर्ने वित्तिकै आधा घण्टा भित्रमा घरमै राहत सामाग्री पुर्याउने ब्यवस्था गाउँपालिकाले मिलाएको छ । उहाँले अगाडी भन्नुभयो, ‘कसैले खाना खाए पाएन, भोकै बसेको छु भनेर फोन गर्यो भने आधा घण्टाभित्रै उपलब्ध हुने गरी राहत प्याकेज घरमै पुर्याउने ब्यवस्था मिलाइएको छ, यसका लागि राहत सामाग्री वडामा गइसकेको छ ।’

गाउँपालिकाले राहत वितरणका लागि परिवार संख्याको आधारमा तीन प्रकारको प्याकेज बनाएको छ । ‘एक जनाको परिवारलाई चार किलो, चार जना सम्मको परिवारलाई १२ किलो र पाँच जनाभन्दा बढी भएको परिवारलाई १६ किलो चामल तथा त्यसमा दाल, नुन, तेल दिइन्छ,’ बस्नेतले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष लाहुराम थारुले राहत वितरणको काम सुरु भइसकेकाले दैनिक ज्याला मजदुरी गर्ने परिवारले सम्बन्धित वडामा सम्पर्क गरेर लिन सक्ने बताउनु भयो । ‘उहाँहरुको सुबिधाको लागि हामीले राहत सामाग्री घरमै पुर्याइदिने ब्यवस्था मिलाएका छौं, लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवार कोही पनि भोकै नबस्नु होला,’ उहाँले भन्नुभयो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन लम्बिदाँ राप्तीसोनारी क्षेत्रभित्र दैनिक ज्याला मजदुरी गर्ने परिवारको बिचल्ली भएको छ । लकडाउनबाट प्रभावित गरिव तथा विपन्न परिवारप्रति गाउँपालिका सम्बेदनशिल रहेको अध्यक्ष थारुले बताउनु भएको छ । राहत वितरणको काम ब्यवस्थित र पारदर्शी रुपले सञ्चालन गर्न उहाँले सबै वडाका जनप्रतिनिधीलाई निर्देशन समेत दिनु भएको छ ।

गाउँपालिकाले राप्तीसोनारीका सबै नागरिकका लागि पनि एक लिटर तेल, एक किलो नुन र साबुन दिने भएको छ । लामो समयदेखी चलेको लकडाउनका कारण आर्थिक रुपले सक्षम परिवार पनि बाहिर निस्कन नपाएको हुँदा यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । ‘राप्तीसोनारीका सबै घर परिवारलाई एक लिटर तेल, एक किलो नुन र एउटा साबुन बितरण गरिनेछ,’ बस्नेतले भन्नुभयो ।

Nabintech