४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राजधानीदेखि पैदलै बर्दियासम्मको यात्रा

अधिकाशंलाई कसले चुनाव जित्यो र आफ्नो जनप्रतिनिधि को हुन पनि थाहा छैन



न खाने ठेगान, न कुनै बस्ने बासको ठेगान । शुक्रबार बिहानदेखि भक्तपुरको राधे–राधेबाट ११ भाइले एउटा अनिश्चित यात्रा सुरु गरेका छन् ।उनीहरुको अन्तिम गन्तव्य बर्दिया हो । कोही दैलेखसम्मका पनि छन् ।

उनीहरुको अनिश्चित यात्रा भक्तपुरको राधेरोधे, कोटेश्वर, बल्खु हुँदै अघि बढेको छ । झन्डै ५ सय ४५ किलोमिटर दुरी पैदलै पैदल पार गर्ने उनीहरुको अठोट छ । बर्दियाको बारबर्दिया नगरपालिकाका ८ जना र ३ जना दैलेखका मजदुरहरु अहिले खाने कुरा सकिएपछि घर बनाइरहेको ठाउँको बस्ने टहरो छोडेर लामो यात्रामा निस्किएका हुन् ।

लकडाउनको अठारौं दिनसम्म पनि कुनै राहत नपाएको उनीहरुको दुखेको थियो । खाने कुराको अभावमा भोकमरी सहनु भन्दा हिँडेरै बर्दिया पुग्ने उनीहरुले योजना बनाए । सरकारले लकडाउन प्रभावित श्रमजिवी मजदुर बर्गलाई स्थानीय तहबाट राहत उपलब्ध गराउने घोषणा त ग¥यो । तर त्यसमा पनि टाठाबाठाकै हालीमुहाली छ । मजदुर भएको प्रमाण खोज्ने पद्धतीले उनीहरुको हातमा एक गेडो चामल परेन ।

राहतका लागि नाम लेखाउन खोज्दा नागरिकताको प्रमाणपत्र खोजियो । साथै काम गरेको घरधनीले पनि सिफारिस गर्नुपर्ने भनेपछि राहत नपाएको उनीहरुले बताए । घरधनीको सिफारिस लिन घरधनीबारे उनीहरुलाई थाहा थिएन । बिहान ९ बजे जे भएको खानेकुरा खाएर भक्तपुरको राधे राधेबाट उनीहरु लाइन लागेर कोटेश्वर तर्फ अघि बढे । ललितपुरको सातदोबाटो आइपुग्दा बिहानको साढे ११ बजेको थियो ।

सातदोबाटोमा पोका पन्तुरा बोकेर हिँडिरहेका उनीहरुको समूहलाई एक सशस्त्र प्रहरी जवानले बाटोमा रोके । उनले भने–‘एउटा जिल्लाबाट अर्को जिल्लामा जान पाइदैन भन्ने थाहा छैन । तपाईंहरु यही बस्नुस् ।’  उनले झन्डै १५–२० मिनेट उनीहरुलाई घाममा उभ्याए । ‘तपाईंहरुलाई जान दिन नहुने थियो तर अलि ग्याप राखेर मात्र हिँड्नुस्’ प्रहरीले यसो भनेपछि फेरि उनीहरुको पाइला अघि बढ्यो ।

ठाउँ ठाउँमा प्रहरीले एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाने भन्दै १५ मिनेट देखि आधा घण्टा उभ्याइदिने गरेको उनीहरुको दुखेको थियो । प्रहरीले यसरी रोकिदिँदा हिँडाइको गति कम भएको उनीहरुले बताए ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ३ साता लामो लकडाउन जारी गरेपछि शहरी क्षेत्रमा रहेका मजदुर त्यसको चपेटामा परेका छन् । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको एकातिर काम नपाउँदा कमाउने माध्यम हराएको छ भने अर्कोतिर खाने कुरा सकिँदा समस्यामा छन् । घर जाँउ भने सवारी ठप्प छ ।अन्तिम विकल्पको रुपमा सयौँ किलोमिटरको यात्रामा हिड्न बाध्यताले डोहोर्याएको छ ।

भक्तपुर देखि ललितपर र काठमाडौं हुँदै बर्दियासम्मको यात्रामा रहेका मजदुरहरु अधिकांश बर्दियाको बारबर्दिया गाउँपालिकाका छन् ।यसरी यात्रामा निस्किएका मजदुरहरु मानबहादुर गुरुङ, दलबहादुर गुरुङ, नन्दु गुरुङ, नरबहादुर गुरुङ, सुशील जिसी, मदन बस्नेत, बलबहादुर बलामी, करण गुरुङ, मानबहादुर घर्तीमगर, रमेश गुरुङ छन् ।

उनीहरु राधे राधेमा घर बनाइरहेका थिए । अचानक लकडाउन भएपछि उनीहरुको काम पनि रोकियो । ११ गतेदेखि १ साताका लागि लकडाउन भएपछि १८ गते सडक सञ्चालन होला र घर जाँउला भन्ने सोचाईमा रहेका उनीहरु लकडाउनको समय थप भएपछि अप्ठेरोमा परे । सरकारले फेरि अर्को साता पनि थप्दै बैशाख ३ गतेसम्म लकडाउन कायम गरेपछि उनीहरुमा अझै थपिने हो कि भन्ने त्रास बढ्यो ।लकडाउनको १८ औं दिनसम्म घर बनाउने ठाउँको टहरोमा बसे । खर्च र खानेकुरा सकिन लागेपछि उनीहरुले अन्तिम विकल्पको रुपमा पैदलै घर जाने निर्णय लिए ।

सरकारले शुक्रबार र शनिवार घर जाने निर्णय गरेको सुनेपछि उनीहरु खुसी भएको तर बेलुका फेरि हैन भन्ने कुरा आएपछि निराश भएको सुशील जिसीले बताए । बैशाख ३ गते लकडाउन खुल्ने भनेपनि उनीहरुलाई पत्यार छैन । लकडाउन अझै लम्बियो र गाडी चलेन भने काठमाडौं भोकभोकै मर्नुभन्दा घरमा खोलेपानी खाएर भएपनि बाँचिने उनीहरुले सुनाए । कमाएको पैसा पनि खाएर सकिन लागेको र घरमा पनि आमाले चिन्ता लिएपछि हिँडेरै घर जानुको विकल्प नभएको नन्दु गुरुङले बताए ।

घर बनाउने मजदुर मानबहादुर जिसी खुट्टा खोच्याँउदै हिँडिरहेका थिए । उनको हातमा एउटा झोला थियो । झोलामा उनले एउटा ब्ल्याङ्केट बोकेका रहेछन् । उनले भने–‘जहाँ पुग्दा रात पर्छ त्यही ओडेर सुत्नुपर्छ ।’ उनीहरुले प्रतिनिधिसभा तथा स्थानीय तहको निर्वाचनमा गाउँ गएर भोट पनि हालेका थिए । अधिकाशंलाई कसले चुनाव जित्यो र आफ्नो जनप्रतिनिधि को हुन पनि थाहा छैन ।

संकटको बेलामा जनप्रतिनिधि गुहारे तपाईंहरुलाई केही सहयोग मिल्थ्यो कि भन्ने प्रश्नमा उनीहरु अकमकाई रहे । बर्दिया हिँडेका टोलीका एक सदस्य मदन बस्नेतले आफ्नो स्थानीय तहमा दुर्गाप्रसाद चौधरी प्रमुख रहेको र उनलाई समस्या सुनाउन वडा कार्यालयमा नम्बर मागेको बताए । उनले बर्दियाका जनप्रतिनिधि तथा नेताहरुलाई बीच बाटो कतैबाट घरसम्म पुग्ने व्यवस्था गरिदिए आभारी हुने बताए । सरकारले घरसम्म जानका लागि बाटो खोलिदिएको भए सहज हुने बताउँदै पैदल हिँड्दा पनि बाटोमा प्रहरीले नरोकिदिए छिटो हिँड्न पाइने सुनाए । यसअघि पनि ३०–३२ जना बर्दियाका मजदुर पैदलै घर हिँडेकोले आफूहरु पनि घर पुग्नेमा उनीहरुको भरोसा छ ।

Nabintech