५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना र रुघाखोकीको लक्षण : भ्रम र वास्तविकता


कोरोना भाइरसको महामारी फैलिएको चीनको हुवेई प्रान्तको हुवानबाट ढिलै भए पनि १ सय ७५ जना नेपालीलाई ल्याइएको छ । नेपालको इतिहासमै पहिलो पटक यति धेरै मानिसलाई ‘इभ्याकुवेट’ गरेर ल्याइएको छ ।

संसारलाई त्रसित बनाउने महामारी फैलिएको ठाउँबाट सकुशल ल्याइएकोले यसलाई म उद्दार गरेर ल्याइएको भन्छु । उनीहरुलाई यतिकै विना तयारी हतार हतारमा ल्याउन सकिने अवस्था थिएनँ । सरुवा रोगको महामारी फैलिएको स्थानबाट मान्छेलाई सुरक्षित ठाउँमा ल्याउँदा त्यसको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्छ ।

इतिहासमै पहिलो पटक यति ठूलो संख्यामा नेपालीलाई अर्को देशबाट ल्याइएको, कुनै पूर्वअनुभव वा पूर्वतयारी नभएको र विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गर्दै जाँदा उनीहरुलाई ल्याउन केही ढिलो भएको हो ।

क्वारेन्टाइन र आइसोलेसन सेन्टर

उनीहरुलाई भक्तपुरको खरिपाटीको क्वारेन्टाइनमा राखिएको छ । महामारी फैलिएको क्षेत्रबाट ल्याइएका व्यक्तिमा भाइरसको संक्रमण १४ दिनसम्म हुन्छ कि छ कि छैन भन्ने निगरानी गर्नु र उनीहरुबाट अन्य व्यक्तिमा त्यसको सङ्क्रमण हुनबाट रोक्नु नै चीनबाट ल्याइएका नेपालीलाई क्वारेन्टाइनमा राख्नुको मुख्य उद्देश्य हो । भाइरसको सङ्क्रमण हुन सक्ने व्यक्तिको आवागमनलाई केही दिनसम्म एक ठाउँमा सीमित गर्न क्वारेन्टाइनमा राखिन्छ ।

क्वारेन्टाइनभित्र वा बाहिर कतै कुनै व्यक्तिमा सरुवा रोगको सङ्क्रमण भएको वा त्यस्तो रोगको लक्षण देखियो भने त्यस्तो व्यक्तिलाई आइसोलेसन सेन्टरमा राखिन्छ । त्यस्तो आइसोलेसन सेन्टर अस्पतालभित्रै छुट्टै स्थानमा व्यवस्था गरिएको हुन्छ । त्यस्तो आइसोलेसन सेन्टरमा सरुवा रोग सङ्क्रमित विरामीको उपचार हुन्छ ।

हावाबाट उडेर सङ्क्रमण फैलिँदैन

खरिपाटीको क्वारेन्टाइन बस्तीभन्दा टाढा जंगलतिर राखे हुन्थ्यो भन्ने धेरैको भनाइ देखियो । तर मेरो विचारमा क्वारेन्टाइन यस्तो ठाउँमा हुनुपर्छ जहाँ यसको व्यवस्थापन राम्रोसँग गर्न सकियोस् र बाहिरी मान्छेको सम्पर्कबाट त्यो टाढा रहोस् । कोरोना भाइरस खरिपाटीको क्वारेन्टाइनबाट हावामार्फत् उड्दै उड्दै हामीमा पनि सर्ने हो कि भन्ने भ्रम र शंका लागेर स्थानीय बासिन्दामा सुरुमा त्रास बढेको हो । धेरैले यसबारे नबुझेकै हुन् ।

अर्को, टोलटोलमा हुने चिया गफले पनि कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी अफवाह फैलिएको हो । अरुको कुरा नगरौँ । कोरोना भाइरसको समाचारहरु आउन थालेपछि एक जना स्वास्थ्यकर्मी नै सङ्क्रमणको शंका लागेर मकहाँ आएका थिए । तपाईंँलाई कोरोना भाइरसले सङ्क्रमण गरेको छैन भन्नेमा उनलाई आश्वस्त पार्न मलाई एक घण्टा समय लाग्यो ।

स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको शंकाबाट निकाल्न मलाई एक घण्टा लाग्यो भने भक्तपुरका बासिन्दालाई यसको वास्तविकताबारे समयमै यथार्थ जानकारी नदिएर उनीहरु अनावश्यक भ्रम र त्रासको शिकार भएका हुन् ।

यदि म चीनको हुवानमा हुन्थेँ र मलाई रुघाखोकी लाग्थ्याे भने मलाई कोरोना भाइरसले सङ्क्रमण गरेको मैले पनि सोच्थेँ । तर म नेपालमा छु र मलाई रुघाखोकी लागेको छ भने मलाई रुघाखोकी नै लागेको सोच्छु ।

यस्तो कोरोना भाइरसको सङ्क्रमण नभएको किन सोच्छु भने हामी यस्तो देशमा छौँ जहाँ कोरोना भाइरसको सङ्क्रमण देखिएकै छैन भन्दा पनि हुन्छ । एक जनामा लक्षण देखिएको थियो । त्यसलाई तुरुन्तै निको पारिहालियो । म त फेरि दावाका साथ भन्छु– नेपाल यस्तो देश हो जहाँ कोरोना भाइरस संक्रमितलाई सफलतापूर्वक उपचार गरियो ।

रुघाखोकी कोरोना भाइरस होइन

नेपालमा हरेक वर्ष यही मौसममा र मौसम बदली हुने बेलामा मानिसमा रुघाखोकी र अझ फ्लुको सङ्क्रमण देखिने गर्छ । यदि हाम्रो छिमेकी चीनमा कोरोना भाइरसको महामारी नफैलिएको भए आज फ्लुको बारेमा मात्रै कुरा गर्दथेँ ।

ठाउँअनुसार रोगको बारेमा हामीले शंकाउपशंका गर्नु स्वाभाविकै हो । पश्चिम अफ्रिकामा कसैलाई ज्वरो लाग्यो भने उसलाई इबोला नै लागेको हो कि भन्ने शंका गरिन्छ । किनभने त्यो इबोलाको महामारी फैलिएको क्षेत्र हो ।

त्यसैगरी नेपालमा मौसमी रुघाखोकी अथवा भाइरल फ्लु धेरै लाग्ने गरेकाले हामीले रुघाखोकी लाग्नेबित्तिकै डराउनुपर्दैन । किनभने त्यस्तो व्यक्तिलाई कोरोना भाइरस नभएर मौसमी रुघाखोकी वा फ्लु भएको हुनसक्ने पहिलो अनुमान हामीले गर्नुपर्दछ ।

कोही व्यक्ति चीनको हुवानबाट नेपाल आएको छ र १४ दिनभित्र त्यो व्यक्तिमा खोकी लाग्ने, ज्वरो आउने र श्वास फेर्न गाह्रो भयो भने त्यस व्यक्तिमा कोरोना भाइरस लागेको र त्यस व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सर्ने सम्भावना हुन्छ । यस्तै, हुवानबाट आएको व्यक्ति आफ्नै घरमा वा कसैको घरमा बसेको छ र त्यस व्यक्तिसँगै बसेको परिवारको कुनै सदस्यमा रुघाखोकीजस्तो लक्षण देखियो भने कोरोना भाइरसको संक्रमण भएको हो कि भन्ने शंका गर्न सकिन्छ ।

त्यस्तै, त्यो व्यक्तिसँगको सम्पर्क सकिएको १४ दिनभित्र रुघाखोकीको लक्षण देखियो भने पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्दछ भन्ने शंका गर्नु अन्यथा होइन । अन्य अवस्थामा रुघाखोकी लागेमा कोरोना भाइरसको संक्रमण भएको शंका गर्नु व्यर्थ हो ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गुम्बागाउँमा केही दिनअघि मौसमी रुघाखोकी फैलिँदा कोरोना भाइरसको सन्त्रास देखिएको थियो । चीनमा कोरोना भाइरसको महामारी फैलिएकै बेला त्यहाँ २ सय जनामा रुघाखोकी देखिनु र चीनसँग सीमाना जोडिएको क्षेत्र भएकोले धेरैले कोरोना भाइरसकै संक्रमण फैलिएको हो भन्ने शंका गरे । तर मैले सुरुमै साथीभाइसँग भनेको थिएँ कि त्यो काेरोना भाइरस हुनै सक्दैन ।

सर्जिकल मास्क राम्रो

मास्क कपडाको लगाउनु हुँदैन । किनभने यसले कुनै किसिमको सङ्क्रमण रोक्न मद्दत गर्दैन । हाम्रो चलनमा आएको एउटा सर्जिकल मास्क र अर्को एन नाइन्टीफाइभ भन्ने मास्क छन् ।एन नाइन्टीफाइभ भन्ने मास्क बाहिर लगाएर साध्य छैन । सर्जिकल मास्क सजिलै पाइन्छ र अहिले यो नै बढी मात्रामा प्रयोग भइरहेको छ ।

सर्जिकल मास्कले शतप्रतिशत रोक्ने र पुरै सुरक्षित हुने भन्ने छैन । तर धेरै हदसम्म सङ्क्रमणलाई रोक्छ र श्वासप्रश्वाससम्बन्धी रोगबाट पनि बचाउँछ । त्यो कसरी हो भने कोही नजिकै रहेको व्यक्तिले खोक्दा उसको थुकका छिटाहरुलाई रोक्न सर्जिकल मास्कले सहयोग गर्दछ । त्यसैले सर्जिकल मास्कको उपयुक्त प्रयोगले मौसमी रुघाखोकी, फ्लु र कोरोना भाइरसको संक्रमणबाट धेरै हदसम्म बचाउँछ ।

विशेष गरेर सङ्क्रमित व्यक्तिले सर्जिकल मास्क लगायो भने स्वस्थ्य व्यक्तिले लगाउनु नै पर्दैन । तर स्वस्थ्य व्यक्तिले सर्जिकल मास्क लगायो भने त्यसले उसलाई धुँवाधुलोबाट समेत जोगाउँछ । सर्जिकल मास्क लगाएर शतप्रतिशत ढुक्क हुने भने होइन ।

‘एन नाइन्टी फाइभ’ मास्क विशेष गरेर उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने गरेका छन् । यी दुई मास्कमध्ये जुनसुकै लगाए पनि मास्क खोल्ने र लगाउने प्रक्रिया मिलेन तथा प्रयोगपछि जथाभावी फाल्यो भने त्यसले प्रभावकारी रुपमा काम गर्दैन ।

(शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. पुनसँगकाे कुराकानीमा आधारित)

Nabintech