९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्यो, वन्यजन्तु असुरक्षित


बाँके राष्ट्रिय निकुञ्ज नेपालमा बाघ संरक्षणका लागि उपयुक्त थलो बन्दै गएको छ । निकुञ्जमा बाघका लागि वासस्थान, खानेपानीका साथै आवश्यक अन्य वातावरणको व्यवस्थापनका कारण बाघको सङ्ख्या बढेको हो ।उक्त निकुञ्जले जनाएअनुसार सन् २०१८ को गणनामा बयस्क बाघको सङ्ख्या २१ पुगेको छ । सन् २०१३ मा यहाँ चारवटा बाघ मात्र थिए । तर निकुञ्जमा बाघलगायत अन्य वन्यजन्तु बढेसँगै राजमार्गका कारण वन्यजन्तुहरु असुरिक्षत पनि हुन पुगेका छन् ।

‘बाघका लागि आहारविहार, बस्ने वातावरण र ठाउँ आदिको व्यवस्था गरेपछि बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भने । बाघको सङ्ख्या सन् २०२२ सम्ममा २५० पुर्‍याउन सकिने प्रतिबद्धता नेपालको रही आएको छ । त्यो पूरा गर्न सकिने उनले बताए । यहाँ भइरहेको बाघको बृद्धिले पनि यसलाई सजिलो बनाएको उक्त निकुञ्जको धारणा छ ।

तर पनि यस निकुञ्जमा पर्ने राजमार्गका कारण यहाँका बाघ लगायतका अन्य वन्यजन्तुहरुको सुरक्षा भने जोखिममा रहेको बताइएको छ । बाघको सङ्ख्या यहाँ बढ्दै गएको छ तर पनि अरु वन्यजन्तुलाई पनि राजमार्गमा के कसरी जोगाउने भन्ने जोखिम भने कायमै रहेको यस निकुञ्जका अधिकारीहरु बताउँछन् । राष्ट्रिय निकुञ्जको राजमार्ग आसपासमा वन्यजन्तु दुर्घटनामा पर्न थालेकाले असुरक्षित हुने गरेको निकुञ्ज अधिकारीहरुको भनाइ छ ।

यो राष्ट्रिय निकुञ्जभित्र पूर्व–पश्चिम क्षेत्रमा ७२ किलोमिटर र कोहलपुर–बबई रत्न राजमार्ग करिब ३० किलोमिटर पर्दछ । वन्यजन्तुहरु राजमार्गबाटै वारपार गर्ने गर्दछन् । यस क्रममा वन्यजन्तुहरु दुर्घटनामा पर्ने समस्या रहेको निकुञ्ज अधिकारीहरुको भनाइ छ । यसले एकातर्फ राजमार्गका कारण वन्यजन्तु असुरक्षित रहेको देखाउँछ भने अर्कातर्फ राजमार्ग पनि वन्यजन्तुका कारण असुरक्षित हुन पुगेको पनि देखिन्छ । वन्यजन्तुले सडक पार गर्ने क्रममा सवारी दुर्घटना पनि हुनसक्ने देखिन्छ ।

निकुञ्जको सुक्खा क्षेत्रमा बसोबास गरी आएका वन्यजन्तु पानी पिउन राप्ती नदीको किनारमा पुग्ने गर्दछन् । ती जनावर पानी पिउन प्रायः रातको समयमा जाने र त्यस समयमा पनि राजमार्गमा सवारीसाधनहरु सञ्चालन भइरहने भएकोले राजमार्ग पार गर्ने क्रममा ती वन्यजन्तु सडक दुर्घटनामा पर्ने गरेको पाइएको छ । त्यसैगरी त्यही सडक भएर यात्रा गर्ने व्यक्तिहरुले पनि सडकमा जथाभावी खानेकुरा फ्याँक्ने गरेकाले पनि ती खानेकुरा टिप्न जाँदा केही जनावर गाडीको ठक्करले मारिएका निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।

उक्त निकुञ्जले दिएको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षको अवधिमा २६४ जनावर सडक दुर्घटनामा परेर मरेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार आव २०७५÷७६ मा ४५, आव २०७४÷७५ मा ७२, आव २०७३÷७४ मा ८३, आव २०७२÷७३ मा ५० र आव २०७१÷७२ मा २४ वटा वन्यजन्तुको मृत्यु दुर्घटनाबाट भएको छ । यसरी राजमार्ग वरपर भएको दुर्घटनामा परेर मृत्यु हुनेमा बँदेल, मृग, खरायो धेरै रेहका आदि छन् । यस्तो दुर्घटना खासगरेर सुक्खायाममा बढी हुने गरेको पनि पाइएको छ ।

सुख्खा याममा पानी पिउन धेरै जनावर राप्ती किनारमा जादा दुर्घटना परेको उक्त निकुञ्जका अधिकारीहरुको अनुभव छ । गत वर्ष मात्र दुर्घटनाको जोखिममा परेका र घाइते अवस्थामा भेटिएका ४ सय ३१ वन्यजन्तुको उद्धार गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा बाघ र हात्तीसहित चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका जनावर छन् । यहाँ जैविक विविधताको दृष्टिले आठवटा पारिस्थितिकीय प्रणाली, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रजातिका पन्छी, ५८ प्रजातिका माछा, ३२ प्रजातिका स्तनधारी, २२ प्रजातिका सरीसृप तथा छ प्रजातिका उभयचर
पाइन्छन् ।

त्यसैगरी यस निकुञ्जमा सालक, हुँडार, चौका, जङ्गली हात्ती र पाटेबाघजस्ता संरक्षित स्तनधारी वन्यजन्तु, कालो गरुड र राजधनेशजस्ता पन्छी र अजिङ्गर, सुनगोहोरो जस्ता संरक्षित घस्रने वन्यजन्तु समेत रहेका छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ मानिएका पङ्छी पनि अभिलेख गरिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको हुँदा ठूला वन्यजन्तुका लागि यो महत्वपूर्ण वासस्थान पनि हो ।

विसं २०६७ देखि यस राष्ट्रिय निकुञ्जको सुरक्षा व्यवस्थाको जिम्मा नेपाली सेनाले लिएको छ । विसं २०७४ देखि नेपाली सेनाको श्रीमेहर गण यसको सुरक्षार्थ तैनाथ रहेको छ । यो राष्ट्रिय निकुञ्ज नेपालको पछिल्लो पटक घोषित भएकोले भौतिक पूर्वाधार निर्माण गर्नेदेखि लिएर सुरक्षा प्रदान गर्नेसम्मको काम गर्दै आएकोे श्रीमेहर गणका प्रमुख सेनानी जीवन शर्मा बताउँछन् । खासगरी यो निकुञ्जको स्थापना बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले विसं २०६७ मा भएको हो ।

यस निकुञ्जभित्र पर्या–पर्यटन प्रवद्र्धनका लागि पक्की मचान, वन्यजन्तुका लागि पानीपोखरीहरुको निर्माण पनि गरिएको छ । निकुञ्जभित्र हुनसक्ने आगलागी नियन्त्रणका लागि विभिन्न स्थानमा पोखरीहरु निर्माण गरिएको छ । त्यसैगरी हात्तीको वासस्थानका लागि सेडघरहरु निर्माण गरिएको छ भने चोरी शिकारी हुन नदिन र त्यहाँ भित्र हुने जनावरको गतिविधि बुझ्न जङ्गलभित्र ठाउँठाउँमा आधुनिक क्यामराहरु राखिएको छ ।

पछिल्लो समयमा मध्यवर्ती क्षेत्रका स्थानीयवासीको सोँचमा पनि परिवर्तन आएको बताइएको छ । मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने समुदायमा केही वर्षअघिसम्म निकुञ्जप्रति त्यस्तो सकारात्मक धारणा नरहेकोमा अहिले भने संरक्षणप्रति नै उनीहरु जुट्न थालेका छन् । निकुञ्जमा घुम्न आउने पर्यटकका कारण त्यहाँका मध्यवर्ती क्षेत्रका बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन आउनसक्ने चेतना अहिले उनीहरुमा आएको देखिन्छ । त्यसैले यहाँका बासिन्दा पनि संरक्षणको अभियानमा सक्रिय रुपमा लागेको कोहलपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका सदस्य कृष्ण थारु बताउँछन् । हाल यस निकुञ्जअन्तर्गत नौवटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति रहेका छन् ।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरुप बाघको संख्या बढाउन यहाँ विशेषगरी बाघको वासस्थानको उचित व्यवस्थापन गरिएको
छ । यसै उद्देश्यले बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमी कोर र ३४३ वर्ग कि।मि। मध्यवर्ती क्षेत्र गरी जम्मा ८९३ वर्ग किमी क्षेत्र समेटेर सरकारले नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रुपमा यो निकुञ्जको स्थापना गरेको हो ।

निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग तथा राष्ट्रिय र सामुदायिक वन हुँदै भारतको कतर्नियाघाट वाइल्ड लाइफ सेन्चरीसँग जोडिएको
छ । उत्तरतर्फ चुरे पर्वत र दक्षिणमा पूर्व–पश्चिम राजमार्ग तथा कम्दी जैविक मार्गहुँदै भारतको सलेहवा वाइल्डलाइफ सेन्चरी क्षेत्रसँग समेत जोडिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा बढी पर्यटक भित्र्यान गत पुसको दोस्रो साता हात्ती सफारीको पनि आयोजना गरिएको थियो । मध्यवर्ती क्षेत्रका विभिन्न क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्यगरी बालापुर, खड्गबार र गाभरमा होमस्टे ९घरवास पर्यटन० पनि सञ्चालनमा ल्याइएको छ । ती घरबासमा विदेशी र स्वदेशी पर्यटकको आगमन हुन थालिसकेको यसका सञ्चालकहरु बताउँछन् ।

निकुञ्जको ओभरी, खड्गबार, बुच्चापुर, गाभर र अगैयाबाट पर्यटकलाई निकुञ्जभित्र प्रवेश गर्ने सुविधा उपलब्ध छ । बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्नु अघि राझाँ विमानस्थलबाट झरेका विदेशी तथा स्वदेशी पर्यटकहरु बाँके राष्ट्रिय निकुञ्जको अवलोकन गरेर मात्र बर्दिय जाने गरेका छन् । यस निकुञ्जलाई पनि सरकारले यसै वर्ष घोषणा गरेको १०० वटा पर्यटकीय गन्तव्यको सूचीमा ५७औँ स्थानमा समेटेको छ ।

Nabintech