५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
३ दिन पैदल हिडेर आएका बाँकेका २९ जना मजदुरहरु को उद्धार

‘नत ठेकेदारले पैशा दिए,नत प्रशासनले पास बेखर्ची भएर घर जान पैदल हिड्यौं’



 

काठमाण्डौंबाट घर जानका लागि पैदल हिडेर आएका बाँकेका २९ जना मजदुरहरुलाई नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी र उद्योग वाणिज्य संघ परासीले उद्दार गरेर गन्तव्यमा पठाएको छ । काठमाण्डौंबाट ३ दिनअघि पैदल हिडेर शुक्रबार पश्चिम नवलपरासीको भूमहीमा पुगेका उनीहरुलाई यी दुई संस्थाले उद्दार गरेर घर पठाएका हुन् । ३ दिनको पैदल यात्राका कारण सबै मजुदरका खुट्टा सुनिएका थिए । भोक र प्यासले उनीहरुको अनुहार मलिन थियो ।

समाचार संकलनका क्रममा बर्दघाटको टिसिएन चोकमा पुगेका पत्रकार महासंघका अध्यक्ष हरि शर्माले उनीहरुको दयनिय अवस्था देखेपछि उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीसँग समन्वय गरेका थिए । मजुदरहरुको बारेमा यी दुवै संस्थाले प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी उपरीक्षक लालमणि आचार्यलाई जानकारी गराएपछि प्रशासनले उनीहरुको सवारीसाधनका लागि पासको व्यवस्था मिलाएका थिए । उनीहरुलाई प्रहरीले भूमहीमा बिस्कुट र पानी समेत खुवाएको थियो । उवासंघले बसको व्यवस्था मिलाएपछि शुक्रबार साँझ उनीहरु बाँके गएका हुन् । २९ जनाको समुहमा महिलासँगै किशोर मजुदरसमेत थिए । पैसा पाएर घर जाने आशमा रहेका उनीहरुलाई ठेकेदारले पैशा नदिएपछि उनीहरु बेखर्चीजस्तै पैदल हिडेका थिए ।
बाँकेको राप्ती सोनारी घर भएका उनीहरु काठमाण्डौं टोखा नगरपालिका–२ पञ्चेतारामा पल्टिङ्ग गर्ने मजदुर हुन । सबै जना थारु समुदायका हुन् । उनीहरु टोखामा पर्खाल (वाल) लगाउने काम गर्दै आएका थिए ।

पटक पटक रकम माग्दा पनि राकेश राई नाम गरेका ठेकेदारले नदिएपछि खल्तीमा भएको केही पैशा लिएर घर हिडेको शिवराज थारुले बताए । घर जानका लागि टोखा नगरपालिकाका कार्यबहाक अध्यक्ष हेराकाजी महर्जनले सवारीसाधनको अनुमति दिएका थिए । तर काठमाण्डौं प्रहरीले उक्त पास अमान्य भन्दै प्रशासनको पास मागेर गाडी फर्काएको थियो । प्रहरीको लाठी खाँदै २ दिन पासका लागि काठमाण्डौं प्रशासनमा पुगेपनि नपाएको उनीहरुले गुनासो गरे । ३ दिनसम्म अन्न खान नपाएका उनीहरुले चिउरा र दालमोठले भोक मेटाएका थिए । काठमाण्डौंमा बस्दा पानीको समेत हाहाकार भएपछि कति दिन उनीहरुले खाल्डोमा पानी जम्मा गरेर खाएको तितो अनुभव सुनाए । लकडाउन खुल्ने संकेत नदेखिनु र ठेकेदारसमेत सम्पर्क बिहिन भएपछि बेखर्ची भएर घर हिडेको अर्का मजुदर रोशन चौधरीले बताए । ३ दिनको अवधिमा उनीहरुले करिब २ सय ४० कि.मिको पैदल दुरी पार गरेका थिए । घर जान थप २ सय ९५ कि.मि. हिड्नु पर्ने थियो । सवारीसाधनको व्यवस्था हुन नसकेको भए उनीहरु घर पुग्न अझै ४ दिन लाग्ने थियो । घर जान पाएपछि उनीहरुले पत्रकार महासंघ, उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनलाई हात हल्लाएर धन्यवाद दिदैं बस चढेका थिए । बाटोमा आफूहरु जस्तै थुपै्र सर्वसाधारण पैदल हिडेर घरतर्फ जादै गरेको उनीहरुले बताए । सरकारले मजदुरी गरेर खानेलाई बसेकै स्थानमा खानाको व्यवस्था गर्न र नसके घर जान व्यवस्था मिलाउनु पर्ने उनीहरुको माग छ ।

Nabintech