कोहलपुर/ कोहलपुर क्षेत्र भित्र अत्यावश्यक पर्ने खाद्यान्न सामाग्रीहरु बजारमा १५ दिनलाई पुग्ने मात्र स्टक छ । चामल,तेल,दाल र गेडागुडी लगाएतको अत्यावश्यक पर्ने खाद्यान्न सामाग्रीहरु १५ दिनका लागि मात्र बजारमा स्टक रहेको कोहलपुर उद्योग वाणिज्जय संघका महासचिव तेज प्रसाद अधिकारीले नयाँ कोर्सलाई जानकारी दिए ।
संघले दिएको जानकारी अनुसार कोहलपुर क्षेत्रमा मासिक चामल १ हजार ५ सय टनको आवश्यक्ता पर्दछ । बजारमा चामल ६ सय टन मात्र स्टक छ । खाने तेल ६ सय १६ टन चाहिनेमा ७५ टन मात्र स्टक छ । गेडागुडी १ सय टन चाहिनेमा ३० टनमात्र स्टक छ । खाने नून मासिक ४ सय टन चाहिने भए पनि बजारमा नून नभएको संघले जनाएको छ ।
यसैगरी कुखुराको दाना मासिक ६ सय ६० टन आवश्यक पर्नेमा ६ सय ६० टननै बजारमा स्टक छ । माछाको दाना ५० क्वीन्टल चाहिनेमा २५ क्वीन्टलमात्र बजारमा स्टक छ ।गाई भैसीको दाना ६ सय क्वीन्टल चाहिनेमा ३ सय क्वीन्टलमात्र बजारमा स्टक छ । वंगुरको दाना ४ सय क्वीन्टल चाहिनेमा २ सय क्वीन्टल स्टक रहेको रहेको कोहलपुर उद्योग वाणिज्य संघले बतायो ।