५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सङ्कटका बेला कहाँ छन् एनजीओ/आइएनजीओ ?


 

एनजीओ अर्थात् गैरसरकारी संस्था राज्यको तोकिएको निकायमा दर्ता भएर सामाजिक, आर्थिक, शैक्षिक, साँस्कृतिक, भौतिक सुधारका लागि काम गर्न स्थापित हुन्छन् । यस्ता संस्थाको उद्देश्यमा ‘गैरनाफामूलक काम गर्ने’ भनिएको हुन्छ । समाजका निश्चित संख्याको संलग्नतामा राज्यको निश्चित निकायमा विधिपूर्वक दर्ता भएर यी सञ्चालनमा आउने हुनाले गैरसरकारी संस्थालाई राज्यले र समाजले पनि विश्वास गर्नुपर्ने अवस्था हुन्छ ।

यस्ता संस्थाका निश्चित उद्देश्य उल्लेख गरिएका हुन्छन् विधानमा । ती उद्देश्य पूरा गर्न विविध कार्य गर्ने पनि विधानमा उल्लेख हुन्छ । र, यस्ता संस्थालाई संस्था दर्ता ऐन, २०३४ ले नियमन गरेको हुन्छ । २०७६ असार मसान्तसम्मको सूचीअनुसार समाज कल्याण परिषदमा आवद्ध ५० हजारभन्दा बढी गैरसरकारी संस्था छन् । यो संस्था दर्ता ऐन, २०३४ लागू भएयताको तथ्याङ्क हो । परिषदमा आवद्ध नभएका पनि धेरै हुन सक्ने अनुमान गरिएको छ ।

यसरी नै २४५ आइएनजीओ समाज कल्याण परिषदमा आवद्ध देखिन्छन् । यीमध्ये धेरैजसो सञ्चालनमै रहेका छन् । आईएनजीओहरू अमेरिका, युरोप, खाडी, अफ्रिकादेखि विभिन्न देशका रहेका देखिन्छन् । तर, संख्यात्मक हिसाबले अमेरिका, बेलायत तथा अन्य युरोपेली देशका धेरै आईएनजीओ नेपालमा सञ्चालनमा रहेको परिषदको सूचीमा देखिन्छ ।

दान (डोनेसन)बाट सञ्चालन

नेपालमा दर्ता भएका अधिकांश गैरसरकारी संस्था ‘गैरनाफामूलक’ छन् । व्यापार गरेर नाफा कमाउने उद्देश्य नभएकाले यस्ता संस्थाले आफूलाई ‘गैरनाफामूलक’ घोषणा गरेका हुन्छन्, विधानमै । तर, काम गर्न त पैसा चाहिन्छ । कहाँबाट आउँछ त यिनलाई काम गर्ने पैसा रु संस्थाका पदाधिकारी र सदस्यले खल्तीको हालेर त ‘सेवा’ गर्ने होइनन् १ हो, अधिकांश यस्ता गैरसरकारी संस्थाको ‘आय’को मूल स्रोत हो, दान वा डोनेसन ।

पहुँच हुनेले अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था, वैदेशिक नियोग, सरकार वा सरकारी निकायबाट निश्चित काम गर्ने नाममा मोटो–छोटो रकम लिन्छन् अनि आफ्ना गतिविधि गर्छन् । हामीकहाँ अर्थात् नेपालमा २०३४ सालमै संस्था दर्ता ऐन लागू भएको हो । उक्त ऐनअनुसार नेपाल रेडक्रस सोसाइटीदेखि धेरै महत्त्वपूर्ण गैरसरकारी संस्था दर्ता भएर सञ्चालनमा आएका हुन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि जारी नेपाल अधिराज्यको संविधान, २०४७ ले संघसंस्था खोल्न पाउने अधिकारलाई मौलिक हकका रूपमा संरक्षण गरेपछि नेपालमा एनजीओ आइएनजीओको बाढी नै आयो । आजसम्म लाखको हाराहारी यस्ता संस्था दर्ता भएका अनुमान गर्न सकिन्छ । हरेक जिल्लामा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने यस्ता संस्थाले वार्षिक अर्बौं रुपैयाँ विभिन्न स्वदेशी विदेशी संस्था र निकायबाट लिँदै आएका छन् ।

यस्तो रकम यिनीहरूले स्वास्थ्य, शिक्षा, समानता, सशक्तीकरण, सामाजिक सुधार, विपन्न, दलित, महिला, बालबालिका, वृद्धवृद्धा आदिका नाममा लिइरहेका छन् । यसले सामाजिक, शैक्षिक, आर्थिक, लैंगिक, साँस्कृतिक क्षेत्रमा केही सुधार र सचेतता अवश्य ल्याएको हो । तर, सँगसँगै केही गम्भीर विकृतिसँगै सामाजिक पारिवारिक विचलन र द्वन्द्व निम्त्याउन पनि यस्ता एनजीओ आइएनजीओको भूमिका रहेको केही समाजशास्त्री र मनोविदहरूको मत रहेको छ ।

विकृतिको पाटो

उद्देश्यमा ‘पवित्र’ देखिने यस्ता सबै गैरसरकारी संस्थाहरूको नियत र काम भने उद्देश्य अनुसारको पवित्र भएनन् । यस्ता संस्थाले आफ्नो काम कारबाही वा अभियान जुन सचेतताका साथ सत्न्चालन गर्नुपर्दथ्यो, त्यसअनुसार हुन सकेन । अर्थात् नेपाली समाजको यथार्थ अवस्था, सामाजिक चेतना, साँस्कृतिक जटिलता, जनताको शैक्षिक स्तर र चेतनाको तह आदि जस्ता तथ्यहरूका आधारमा आफ्ना गतिविधि र अभियान सञ्चालन गर्नुपर्नेमा त्यसो गरेनन् यी संस्थाले ।

यसको दुष्परिणाम समाज विभाजनतिर गयो, परिवारमा समेत विग्रह र विचलन निम्त्यायो, लैंगिक, जातीय, सामाजिक विभेद सौहाद्र्र रूपमा घटाउनुपर्नेमा आक्रामक, झनै उत्तेजित, झनै घृणाभाव जागृत गराउने काम भयो आपसमा । यो पक्षमा अहिलेसम्म यस्ता संस्थाले ध्यान दिएका छैनन् । अझ खतरनाक कुरा त विदेशी दाताको ‘इन्ट्रेस्ट’ र ‘इन्टेन्सन’ पूरा गर्न आफूहरू प्रयोग भइरहेको यी संस्थाले अझैसम्म चाल पाउन सकेनन्, जसरी हालका प्रधानमन्त्री केपी ओलीलगायतका नेताले ‘होली वाइन’को अन्तर्य अझै बुझेका छैनन् ।

सङ्कटका बेला कहाँ छन् एनजीओ/आइएनजीओ ?

सहज अवस्थामा तारे होटलदेखि हिमाल–पहाड–तराईका होमस्टे–रिसोर्ट आदिसम्म पुगेर ‘सेवा’ गर्ने, ‘सचेतना’ फैलाउने, ‘सशक्तीकरण’ गर्ने यस्ता एनजीओ आइएनजीओको खोजी अहिले भइरहेको छ । मुलुकभित्र नै दर्ता भएका हजारौँ एनजीओ र मुलुकभित्र काम गर्दै आएका सयौँ आइएनजीओ आज यस्तो विपत्तिका बेला कता हराएका छन् रु यो आमचासोको विषय बनेको छ ।

आफ्नो उद्देश्यमा ’सेवामूलक’ राख्ने यस्ता संस्थाले जतिबेला सेवा गर्नुपर्ने अवस्था आउँछ, त्यसबेला जाडोमा दुलोभित्र लुकेको सर्पझैँ लुक्नुले यी संस्थामाथि प्रश्न उठ्नु स्वाभाविक पनि हो । यस्तो बेला यी संस्थाले गच्छेअनुसार सहयोग गर्न सक्थे । करोडौँ रुपैयाँ ‘फ्रिज’ हुन सक्ने रकमले आवश्यक स्वास्थ्य सामग्री उत्पादन र वितरण गर्न सक्थे । केही नभए गरिब, विपन्न र दैनिक ज्याला मजदुरी गरेर खानेहरू अहिले बिचल्लीमा छन्, अभावमा छन्, उनीहरूका लागि राहत जुटाइदिन सक्थे ।

तर, यी ‘सेवाभाव’का नाममा सञ्चालित एनजीओ आइएनजीओ आज चालचुलविहीन छन् । मरेको गाईलाई उपियाँले छाडेजस्तो दुख, अभाव र सङ्कटमा रहेको देश र जनतालाई यिनले भुलेका छन्, बेवास्ता गरेका छन् । तर, सहज अवस्थामा भने अझै यी चम्किनेछन् पुनः तारे होटल, रिसोर्ट, होमस्टे आदिमा लाखौँ रुपैयाँ जाँडमासुमा खर्च गर्दै केके न लछारपाटो लगाएको कागजी रिपोर्ट बनाउँदै ।

Nabintech