९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
एक स्वास्थ्यकर्मीको डायरी : कोरोना भाईरस (कोभिड–१९) को सामना गरौं


सन् २०१९ को डिसेम्बर देखि चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ अहिले विश्वभर फैलिरहेको छ । यसबाट विश्वभर आजका मितिसम्म बि.बि.सी.को तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा ५,४०,००० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । २४,००० जनाको ज्यान गइसकेको छ । १,२४,००० मानिस निको भएका छन् । यसको सबैभन्दा बढी असर युरोपेली मुलुकहरूमा देखिएको छ । इटालीमा यसको असर चीनलाई उछिन्दै सबैभन्दा बढी देखिएको छ । स्मरण रहोस, इटाली विश्वको सबैभन्दा राम्रो स्वास्थ्यकर्मी र स्वास्थ्य–व्यवस्था भएको देशहरू मध्ये दोस्रो नम्बरमा पर्छ । कोरोना भाइरसको संक्रमणको असर अहिले संयुक्त राज्य अमेरिकामा बुलेट–ट्रेनको गतिमा प्रसारित भइरहेको छ ।

एशियन मुलुकहरूमा पनि यसको सक्रमण तीव्र नै छ । यी मुलुकहरूको अवस्था विश्वको हिसाबले हेर्दा सर्वसम्पन्न देखिँदैन् । चीन, भारत, नेपाल, अफगानिस्तान, बङ्गलादेश, पाकिस्तान, भियतनाम, श्रीलङ्का आदि देशहरू यसको संक्रमणको प्रत्यक्ष असरमा छन् । विश्व मानचित्रमा आफूलाई विकसित देश र सर्वशक्तिशाली देखाउन अगाडि बढेको भारतमा अहिलेसम्म यस रोगका कारण २१ जनाको मृत्यु भइसकेको छ भने थुप्रै मानिस संक्रमित छन् । थुप्रैलाई क्वारेन्टाइनमा राखिएको छ ।

अब कुरा नेपालको गरौँ । नेपालमा हाल (सोमवार) सम्म परीक्षण गरिएका ९९३ मध्ये ५ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ भने १ जना निको भई घर फर्किसकेका छन् । ५ जना संक्रमितहरू सबै वैदेशिक यात्रा गरेर आएका हुन् । अब यसलाई यसरी बुझौँ – नेपालमा यो रोग डर, त्रासका कारण आफ्नै देश फर्किरहेका नेपाली दाजुभाइ, दिदी बहिनीहरू बाट फैलिइरहेको छ । याद गर्नुपर्ने कुरा के छ भने यसको असर पछिल्लोपटक काठमाडौँ उपत्यकामा भन्दा बाहिरी जिल्लाहरूमा देखा पर्दै गएको छ । अर्कातिर यसको उपचारका लागि आवश्यक पर्ने ल्याबकिट, विशेषज्ञ स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने मास्क, स्यानिटाइजर, पी.पी.ई. आदिको व्यवस्था गर्न सकिएको छैन । यी सामग्री अहिलेको समयमा अत्यावश्यक हुँदाहुँदै पनि यसको अभावमा पनि स्वास्थ्यकर्मीहरू कोरोनाको उपचार र रोकथामका लागि क्रियाशील भएर लागिपरेका छन् ।
खुल्ला सीमाना भएकाले भारतबाट डरत्रासका कारण लुकीछिपी नेपाल प्रवेश गर्ने नेपालीको संख्यामा कुनै कमी छैन ।

पी.पी.ई.को कुरा :

अहिले पी.पी.ई बनाउने भन्दै जो पायो त्यही व्यक्तिले रेनकोट, एप्रोन आदि बनाउने कपडा सिलाएका छन् । त्यस्तो पी.पी.ई सिलाउँदा झन् बढी खतरा हुन्छ । भाइरस नछिर्ने माइक्रो–प्वाल पारेर सिलाउने प्रविधी यहाँका कपडा सिलाउने व्यक्तिहरूसँग छैन । सिलाएपछि केमिकलको प्रयोग गरेर ती प्वाल समेत टाल्नुपर्ने हुन्छ ।
अहिलेलाई यस्तो संवेदनशील उपकरण बनाउन निरुत्साहित गर्नुपर्छ । पी.पी.ई ब्रान्डेड किन्नुपर्छ र पी.पी.ई बनाइरहेका विदेशी उद्योगबाट किन्नुपर्छ । यो निर्माण गर्ने छुट्टै म्यानुफ्याक्चरिङ प्लान्ट हुन्छ ।
एउटा सिस्टमको कमजोरीले गर्दा भाइरस लिक भयो भने स्वास्थ्यकर्मी र बिरामीलाई झन् खतरा हुन सक्छ । त्यसैले कसैले पनि स्वास्थ्यकर्मी र बिरामीमाथि खेलवाड नगरौँ ।

कोरोना कहर :

कोरोनाबाट बच्नका लागि साबुनपानी वा स्यानिटाइजरले हात धुनुपर्छ । तपाईंलाई आफ्नो हात फोहोर लाग्नेबित्तिकै या केही सामान चलाएपछि साबुनपानी या स्यानिटाइजरले सफा बनाउनुपर्ने हुन्छ । कोरोना भाइरस हावामा फैलने भाइरस होइन । यो त जमिनमै रहने भाइरस हो । त्यसैले हामी निकै सतर्क हुनैपर्छ ।
अहिले पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ । उच्च सर्तकता अपनाउन सक्याँै भने हामीले कोरोनाको कहर खेप्नुपर्दैन । इटालीमा कोरोना भाइरसलाई बेवास्ता गरेर मानिसहरू बाहिर निस्केकाले पूरै देशको अर्थतन्त्र अहिले डामाडोल भएको छ । चीनमा जतिबेला कोरोना भाइरस देखियो, अझ झन फैलियो, त्योबेला पश्चिमी देशहरूले षडयन्त्र मानेर बेवास्ता गर्नुको कारणले युरोपेली देशहरू अहिले कोरोनाको मारमा छन् ।
हाम्रो देशमा एक हप्ताको सेल्फ क्वारेन्टाइनका लागि गरेको लकडाउन सकिएर सरकारले फेरि एक हप्ता थपेको छ । हामी अहिलेको समयमा हाम्रो घरमा जतिको सुरक्षित कतै
छैनौँ ।

कोभिड–१९ को कुरा:

यसरी बस्न प्राकृतिक रूपमै सिर्जित भाइरस मात्रै सम्भव छ । त्यस्तो गुण मानिसले प्रयोगशालामा निर्माण गरेका भाइरस वा जेनेटिक इञ्जिनियरिङका माध्यमबाट सम्भव छैन । तत्कालीन अवस्थामा यो भाइरस चमेराबाट मान्छेमा सरेको हो भनेर अनुमान गरिएको छ । स्वास्थ्य विज्ञानमा कोरोना भाइरस सम्बन्धी नयाँ अध्ययन र अनुसन्धान भइरहेका छन् । चीनले कोरोना भाइरसलाई नियन्त्रणमा लिइसकेको छ भने युरोपेली देशहरू अहिले आक्रान्त बनेका छन् ।
राष्ट्रमा स्वास्थ्य सङ्कट उत्पन्न भइरहेको अवस्थामा आफ्नो दायित्वबाट च्यूत हुने छुट कसैलाई छैन । स्वास्थ्यकर्मीलाई झन् छुट हुने कुरै भएन । हाम्रा अगाडी बाध्यकारी अवस्थ्या आइपरेको छ । यो भाइरस–युद्धसँग लड्नका लागि हामीसँग पर्याप्त साधन–स्रोत नभएकाले स्वास्थ्यकर्मीहरूमा पनि सर्वसाधारणमा जस्तै डर र सन्त्रास छ । उनीहरूको परिवारमा ठूलो मनोवैज्ञानिक आतङ्क छ । यो बेला सरकारले प्याकेज घोषणा गर्न आवश्यक छ ।
जस्तै  आकर्षक बीमाको व्यवस्था, तलब–भत्तामा विशेष प्याकेज, इन्टरनेटको सहज पहुँच, सेवामा तल्लीन रहँदा समस्या आइहाले उसको घर–परिवारको उचित व्यवस्थापन गर्नेतर्फ राज्यले दायित्व लिनुपर्ने
देखिन्छ ।

लकडाउन : 

अहिले सिङ्गो देश लकडाउनमा छ । यो बाध्यकारी अवस्था हाम्रै लागि हो । कोरोना लागिहाले स्थिति यतिसम्म भयानक छ कि श्रीमतीलाई लागिहाले श्रीमान् वा घर–परिवारका कुनै सदस्य हेरचाहका लागि त कुरै छोडौँ, नजिक जानसमेत बन्देज छ । अहिले पाँचजनामा देखिएको यस भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या अझै बढ्ने देखिन्छ ।
व्यक्तिगत सरसफाइमा ध्यान दिने र आफूलाई घरभित्रै व्यस्त राख्ने अभ्यासमा हामी सबै लाग्नुपर्छ । कोको घरभित्र बसे र को बसेनन् भन्दै सडकमा निस्कनु राम्रो होइन । दैनिक ज्याला, मजदुरी गरेर कमाउनेलाई कोरोना भाइरसको कारणभन्दा पनि भोकले लैजाने खतरा लकडाउको अवधि लम्बिएसँगै झनै लम्बिएको छ । यसका लागि सरकारले राहत वितरण कार्यक्रम प्रत्येक वडावडामा गर्नुपर्ने देखिन्छ ।
लकडाउनको असर शहरमा रहेका कुकुरलगायत चराचुरुङ्गीमा पनि देखिएको छ । यिनलाई बचाउनका लागि नागरिकले केही पहल गर्नैपर्छ । यो पृथ्वी हाम्रो मात्रै होइन, हाम्रा वरपर रहेका सबै पशुपन्छीको हो । तसर्थ यिनलाई यो समयमा हामीले भोकै मार्नुहुँदैन ।
अन्त्यमा,
म एउटा स्वास्थ्यकर्मीको नाताले भन्दैछु, हामी सबैभन्दा सुरक्षित हाम्रै घरभित्र छौँ । अति आवश्यक काम पर्दाबाहेक अरू बेला ननिस्कौँ । हात साबुन–पानीले सफा गरिराखौँ । यो लडाइँ हामी स्वाथ्यकर्मीले मात्रै लडेर पुग्दैन । सबै नागरिक सचेत हुनुपर्छ । हामीसँग पर्याप्त स्रोत–साधन नभएकाले सचेतता नै हाम्रो हतियार हो । सचेत बनौँ । आफ्नो सुरक्षा आफैँ गरौँ ।
(स्टाफ नर्स न्यौपाने नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा सेवारत छन)

Nabintech